गाँजा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, एक भारतीय घाइते, दुई पक्राउ

विराटनगर, ३० असोज । मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरस्थित बक्राहा खोला बगरमा गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा एक भारतीय नागरिक घाइते भएका छन्। घटनामा दुई भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज २९ गते उक्त स्थानमा लुकाएर राखिएको अवस्थामा आठवटा सेतो बोराभित्र रहेको २६४.५९ किलोग्राम गाँजा बरामद गरिएको थियो।

सोही स्थानमा पुनः गाँजाको कारोबार हुन सक्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले मध्यराति ११ बजेर २५ मिनेटमा भारततर्फ गाँजा लैजाँदै गरेका व्यक्तिहरूलाई देखेको थियो।

प्रहरीका अनुसार नियन्त्रणमा लिन खोज्दा उनीहरू भारततर्फ भाग्न खोजेपछि एक राउन्ड हवाई फायर गरिएको थियो। त्यसपछि पनि नियन्त्रणमा नआएपछि थप एक राउन्ड गोली चलाउँदा भारतको अररिया जिल्लास्थित जोगबनीका ३९ वर्षीय प्रमोद चौधरीको पिँडुलामा गोली लागेको हो।

गोली लागेर सामान्य घाइते भएका चौधरीसँगै भारतको अररिया जिल्लाको महगामा ग्राम पञ्चायत, थाना नम्बर ४ का ५० वर्षीय राजेन्द्र प्रसाद यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट करिब १०० किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार  ०७ : २१  बजे