काठमाडौं, ३० असोज । बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज देशभर कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल षष्ठीका दिन दुर्गाका नौ स्वरूपमध्ये छैटौँ स्वरूप कात्यायनी देवीको पूजा गर्ने वैदिक सनातनी परम्परा छ।
नवरात्रको पहिलो दिन असोज २५ गते घटस्थापना गरी दशैँघर तथा पूजाकोठामा जमरा राखिएको थियो। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाता देवीको पूजा आराधना गरिएको थियो।
नवरात्रका नौ दिन दशैँघरमा दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठ गर्ने चलन छ। देवीको पूजा आराधना गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी र कलङ्कीमाईलगायत मन्दिरमा भक्तजन पूजा तथा दर्शनका लागि पुगेका छन्।
काठमाडौं बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, मनकामना, इच्छाकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी र उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको चहलपहल बढेको छ।
नवरात्रका नौ दिन पूजा आराधना गरेपछि घटस्थापनाका दिन राखिएको जमरा र प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। कतिपय समुदायमा भने कुल परम्पराअनुसार विजयादशमीकै दिन टीका र जमरा लगाउने चलन रहेको छ।











प्रतिक्रिया