प्रशासनलाई झुक्याएर बाह्र बिघामा झुला लगाइयो, दुर्घटना भए जिम्मेवार को ?

जनकपुरधाम, २९ असोज । गत वर्ष वडा दशैंकै बेला राजदेवी मन्दिर परिसरमा लगाइएको रोटेपिङ झुला दुर्घटना भएदेखि जनकपुरधाममा रोक लगाइएको छ । झुलाको रड भाँचिएपछि झुलामा बसेका ५६ जना श्रद्धालु दर्शनार्थीको ज्यान जोखिममा परेको थियो ।

नेपाली सेना र सशस्त्र प्रहरीले ५ घण्टाको निकै लामो मसक्तपछि ज्यान जोखिममा परेका ती श्रद्धालु दशनार्थीहरुको ज्यान जोगाउन सफल भएका थिए । त्यसलगतै जनकपुरधाममा अबदेखि वडा दशैं लगायतका मेलामा रोटेपिङ जस्ता झुला र अन्य गतिविधि नगरिने निर्णय गरिएको थियो ।

सो निर्णय विपरित यसपटक फेरि महावीर युवा कमिटिले राजदेवी मन्दिर परिसरमा रोटेपिङ झुला लगाउन खोज्दा स्थानीय प्रशासनद्वारा रोक लगाउने निर्णय गरियो । तर सो निर्णय विपरित स्थानीय प्रशासनलाई झुक्याउँदै राजदेवी मन्दिर परिसरबाट हटाइएको रोटेपिङ लगायतका झुला बारहविघा मैदानमा ठूल्ठूला आधा दर्जनभन्दा बढी झुला लगाएको छ ।

रामानन्द युवा क्लबले रमाइलो मेला लगाउने भनी जनकपुरधाम उपमहानगरपालिकाबाट कर्मचारीसंग आर्थिक मिलामतोमा न्यून शुल्क बुझाएर र वृहतर जनकपुर क्षेत्र विकास परिषदद्वारा मिथिला संस्कृतिक उत्थानभन्दै इजाजत लिएका छन् ।

सो इजाजतको भरमा जिल्ला प्रशासन कार्यालय समेतले इजाजत दिएका छन् । तर ती झुलाको प्राविधिक चेकजांच, दर्ता र बीमा बारे कसैले सोधखोज गरेका छैनन् । उपमहानगरलाई सामान्य शुल्क तिरी लाखौको व्यापार गर्ने भएको छ ।

स्रोतका अनुसार असोज ३० गतेदेखि कातिक १० गतेसम्मका लागि एक लाखदेखि १० लाख रूपैंयासम्म बढी रकम कमिटीले असुलेका छन् । क्लबले ती झुला ठेकेदारहरू नेपालकै र बिमित रहेको दाबी गरेका छन् । इजाजत लिंदा मेलामा संचालन गरिने कुनै झुला वा अन्य मनोरञ्जनात्क क्रियाकलाप गर्नेको कागजात बुझाइएको छैन ।

सम्बन्धित निकायको अनुमति, दर्ता र बीमाबिनै भारतीय ठेकेदारले सञ्चालन गर्ने यस्ता जोखिमपुर्ण झुला बारहविघा मैदानमा लगाउने भन्ने इजाजत दिने निकायलाई कुनै दुर्घटना भए जिम्मेवारी लिनुपर्ने आलोचना शुरु भइसकेको छ ।यस्ता जोखिम झुला सञ्चालनका लागि अनुमति दिने निकाय उपमहानगर र वृहत्तरले बिना कुनै प्रक्रिया पु¥याई इजाजत दिएकोमा के आधारमा दिएको भन्ने प्रश्न उठ्न थालेको छ ।

इजाजत दिने निकायले आफूहरु झुला सञ्चालनको होइन सांस्कृति कार्यक्रमका लागि कसैलाई अवरोध नपुग्ने गरी इजाजत दिएको हो भन्ने दाबी गरिरहेका छन् ।

वृहत्तर क्षेत्र विकास परिषदका प्रशासकीय अधिकृत जितेन्द्र यादवले भने स्थानीय रामानन्द युवा क्लबले बारहविघा मैदानमा मिथिला कला, संस्कृति र भोजनको प्रचार गर्ने उद्देश्यले पर्यटकीय विकासका लागि सांस्कृति कार्यक्रम आयोजनाका लागि माग गरेकोमा जानकी मन्दिर र जनकपुरधाम उपमहानगरपालिकासँग इजाजत लिई कसैलाई अवरोध नपुग्ने गरी इजाजत दिन भनेका हौं ।

यता जनकपुरधाम उपमहानगरपालिकाले पालिकाको नियमानुसार शुल्क लिई इजाजत दिइएको बताएका छन् । जनकपुरधाम उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख प्रमेश झाले रामानन्द युवा क्बललाई रमाइलो मेला आयोजना गर्न भनी उचित शुल्क लिई इजाजत दिएको बताउनुभयो ।

तर ती झुलाको प्राविधिक चेकजाँच वा भोलीको दिनमा कुनै दुर्घटना भए जिम्मेवारी र क्षतिपूर्तिको कुरा हो भने रामानन्द युवा क्लबले नै जिम्मेवारी लिनुपर्ने उहाँले बताउनुभयो । यता प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले पनि रामानन्द युवा क्लबले मेला आयोजनाका लागि जनकपुरधाम उपमहानगरपालिका र वृहत्तरको इजाजतसहित आदेश माग गरेकामा यहाँबाट इजाजत दिइएको बताउनुभयो ।

यता क्लबका अध्यक्ष आषुतोष झाले आफू सम्बन्धित निकायबाट विधि प्रक्रिया पुर्याएर इजाजत लिइ मेला सञ्चालन गरिरहेको दाबी गर्नुभएको छ । उहाँका अनुसार झुला काठमाडौंको ईक दर्तावाल कम्पनीको बीमासहित रहेको छ । तर झुलामा काम गर्ने कामदारहरूका अनुसार ती झुलाहरू भारत बिहारको पिन्टु भन्ने ठेकेदारको रहेको बताइएको छ ।

तीनवटै निकायले सांस्कृतिक कार्यक्रम र मेला आयोजनाका लागि इजाजत दिएको भन्ने दाबी गरिरहँदा ती झुलाले कुनै दुर्घटना भए जिम्मेवारी कसले लिने भन्ने अन्यौल नै छ । नेपाल मेला महोत्सव संघको केन्द्रीय समितिले पनि जिल्ला प्रशासन कार्यालय धनुषालाई पत्र पठाएर यस्ता गतिविधि रोक्न माग गरिसकेको छ ।

प्रकाशित मिति: २९ आश्विन २०८३, बिहिबार  १७ : १०  बजे