काठमाडौं, २९ असोज । नागरिक लगानी कोष र एभरेष्ट अस्पताल प्रा।लि।बीच कोषका सहभागी, कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौतापत्रमा कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका सहप्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कोषसँग आबद्ध कर्मचारी, सहभागी तथा उनीहरूका आश्रित परिवारका सदस्यले अस्पतालको बिल तथा परीक्षण सेवामा २० प्रतिशत र शल्यक्रिया कक्ष (ओटी) तथा फार्मेसीको बिलमा १० प्रतिशत छुट पाउनेछन् ।
यद्यपि, बाह्य स्रोतबाट लिइने सेवा, चिकित्सकको परामर्श, एम्बुलेन्स शुल्क तथा उपकरणमा भने छुट लागू हुने छैन । सम्झौताअनुसार अस्पतालले कोषका सक्रिय सहभागीलाई एम्बुलेन्स सेवा तथा विशेष स्वास्थ्य प्याकेज उपलब्ध गराउनुका साथै आवश्यकताअनुसार स्वास्थ्य शिविरसमेत सञ्चालन गर्नेछ ।
स्वास्थ्य शिविरमा सहभागी चिकित्सकका लागि आवश्यक प्रोत्साहनको व्यवस्था गर्नुपर्ने पनि सम्झौतामा उल्लेख छ । स्वास्थ्य सेवा लिने कर्मचारी तथा सहभागीको पहिचान कोषको परिचयपत्रका आधारमा गरिनेछ । परिचयपत्र नभएका आश्रित परिवारका सदस्यको हकमा कोषले आवश्यक विवरण उपलब्ध गराउने वा अस्पताललाई अग्रिम जानकारी गराउने व्यवस्था गरिएको छ ।
दुवै संस्थाले सेवा प्रवाहका क्रममा प्राप्त हुने सूचना सुरक्षित तथा गोप्य राख्नुपर्ने सहमति पनि गरेका छन् । यस सम्झौताबाट नागरिक लगानी कोषसँग आबद्ध कर्मचारी, सहभागी तथा उनीहरूका परिवारका सदस्यलाई स्वास्थ्य उपचारमा आर्थिक सहुलियत प्राप्त हुने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया