काठमाडौं, २७ असोज । नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारबाट धम्की आएको भनिएका महिला र उनका बच्चाको तत्काल सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले सार्वजनिक भएको अडियोमा महिला र बच्चामाथि प्रयोग गरिएका अपमानजनक शब्दप्रति आपत्ति जनाएकी छन्। उनले बच्चामाथि गरिएको दुर्व्यवहार अस्वीकार्य भएको उल्लेख गर्दै घटनालाई सामान्य रूपमा लिन नहुने बताएकी छन्।
झाँक्रीले भनिन्, “अपराधिमाथि कारबाहीभन्दा पहिले पीडितको सुरक्षाको सवाल आउँछ।” उनले नेपाल प्रहरीलाई तत्काल महिला र बच्चाको ज्यानको सुरक्षा सुनिश्चित गर्न तथा घटनाबारे अनुसन्धान गरी दोषी पाइएकामाथि कानुनी कारबाही गर्न माग गरेकी छन्।
सांसद सुनारले एक महिलालाई धम्की दिएको र पैसा मागेको भनिएको अडियो सोमबार जनआस्थाले सार्वजनिक गरेको थियो। अडियोमा महिलालाई अपमानजनक गालीगलौज गरिएको र बच्चालाई समेत लक्षित गरी आपत्तिजनक शब्द प्रयोग गरिएको झाँक्रीको भनाइ छ।
अडियो सार्वजनिक भएपछि रास्वपाले सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ। तर सुनारले भने सार्वजनिक अडियो आफ्नो नभएको र कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको दाबी गर्दै खण्डन गरेका छन्।
अडियोको सत्यता र घटनामा सांसद सुनारको संलग्नताबारे स्वतन्त्र पुष्टि भइसकेको विवरण उपलब्ध छैन। त्यसैले घटनाको निष्पक्ष अनुसन्धानसँगै आरोप लगाइएका महिला र बच्चाको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग उठेको छ।











प्रतिक्रिया