काठमाडौं, २७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन सुरु गर्ने भएको छ। पार्टीले छानबिनका लागि राज्यका सम्बन्धित निकायलाई समेत सहयोग गर्ने जनाएको छ।
रास्वपाले सुनारसँग सम्बन्धित प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उनीमाथि उठेका गम्भीर प्रश्नलाई ध्यानमा राख्दै केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।
पार्टीका महामन्त्री विपिन आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोपलाई गम्भीर र संवेदनशील विषयका रूपमा लिइएको उल्लेख छ।
विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा उभिएको पार्टीले आफ्ना सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई सामान्य रूपमा लिन नसक्ने जनाएको छ।
महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको पनि रास्वपाले स्पष्ट पारेको छ। आरोपको अनुसन्धानमा राज्यका निकायलाई आवश्यक सहयोग गर्ने पार्टीको विज्ञप्तिमा उल्लेख छ।
यसैबीच, रास्वपाले सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुनसमेत रोक लगाएको छ।
सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्की दिएको भनिएको अडियोसहितको समाचार सोमबार जनआस्थाले सार्वजनिक गरेको थियो। उक्त घटनासँग सम्बन्धित आरोपबारे पार्टीले आन्तरिक छानबिन अघि बढाउन लागेको हो। आरोपबारे अनुसन्धानको निष्कर्ष सार्वजनिक भइसकेको छैन।











प्रतिक्रिया