बाणगङ्गामा कपडा बैंकको शाखा स्थापना, इच्छाअनुसार रकम दिएर कपडा लिन सकिने

कपिलवस्तु,२७ असोज । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८, चप्परगाउँमा कपडा बैंकको शाखा स्थापना गरिएको छ। लुम्बिनी प्रदेशको दोस्रो तथा कपिलवस्तु जिल्लाकै पहिलो शाखाका रूपमा स्थापना गरिएको बैंकको सोमबार बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले उद्घाटन गर्नुभयो।

‘स्वविवेकले लिनुहोस्, स्वविवेकले दिनुहोस्’ र ‘कपडामा हुने फजुल खर्च बचाएर आफ्नो स्वास्थ्य र छोराछोरीको शिक्षामा लगानी गरौँ’ भन्ने नारासहित कपडा बैंक सञ्चालनमा ल्याइएको हो।

उद्घाटन कार्यक्रममा नगरप्रमुख अर्यालले स्थानीय नागरिकका समस्या पहिचान गर्दै कोही पनि गाँस, बास र कपासबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कपडा बैंक स्थापना गरिएको बताउनुभयो।

उहाँका अनुसार बैंकबाट कपडा लिँदा निश्चित मूल्य तोकिएको छैन। सेवाग्राहीले आफ्नो इच्छाअनुसार रकम दिएर कपडा लिन सक्ने व्यवस्था गरिएको छ। उहाँले ‘स्वविवेकले दिनुहोस्, स्वविवेकले लिनुहोस्’ भन्ने भावनालाई आत्मसात् गर्न सबैलाई आग्रह गर्नुभयो।

महानायक राजेश हमालको संरक्षण तथा नेपाल स्वयंसेवक संघको समन्वयमा आयोजित कार्यक्रममा वरिष्ठ समाजसेवी उमनाथ पौडेल, नगरसभापति विष्णु न्यौपाने र उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष डोलकराम घिमिरेलगायतले कपडा बैंकको स्थापनालाई उदाहरणीय कार्य भन्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा स्थानीय समाजसेवी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी र इलाका प्रहरी कार्यालयका प्रतिनिधिलगायतको उपस्थिति थियो।

नेपाल स्वयंसेवक संघका अध्यक्ष खेमराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत वडा नम्बर ८ का जनप्रतिनिधि शैलेन्द्र बेल्बासेले गर्नुभएको थियो भने सञ्चालन समाजसेवी पशुपति गिरीले गर्नुभएको थियो।

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार  ०६ : ३८  बजे