इमरान खानको पार्टीका २७८ नेता–कार्यकर्ता प्रहरी हिरासतमा

काठमाडौं, २६ असोज । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ नेता तथा कार्यकर्तालाई प्रहरीले हिरासतमा लिएको छ । खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका दुई अधिकारीका अनुसार इमरान खानको रिहाइको माग गर्दै आइतबार भएको सरकारविरोधी प्रदर्शनपछि प्रान्तमा आपत्कालीन शासन घोषणा गरिएको थियो । नाम सार्वजनिक नगर्ने सर्तमा ती अधिकारीहरूले आइतबारदेखि नै पीटीआईका सदस्यहरूलाई हिरासतमा लिन थालिएको जानकारी दिएका छन् ।

जेलमा रहेका खानका समर्थकहरूले देशको कमजोर आर्थिक अवस्था र सरकारका नीतिप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गर्दै आएका छन् । पछिल्लो समय हजारौँ समर्थक खैबर पख्तुनख्वामा आयोजित पदयात्रामा सहभागी भइरहेका छन् ।

यसैबीच, प्रान्तमा विशेषगरी अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा आतङ्कवादी हिंसा बढ्दै गएपछि सुरक्षा चुनौतीसमेत गम्भीर बनेको छ । पीटीआईका अनुसार प्रान्तका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई राष्ट्रपतिले असाधारण संवैधानिक उपाय घोषणा गरेको केही घण्टापछि पक्राउ गरिएको थियो ।

एक प्रशासनिक अधिकारीका अनुसार अफ्रिदीलाई उनको आधिकारिक निवासबाट नियन्त्रणमा लिएर ‘सुरक्षात्मक हिरासत’मा राखिएको थियो । पछि उनलाई अर्को स्थानमा सारिएको भए पनि कहाँ लगिएको हो भन्नेबारे अधिकारीले खुलाएका छैनन् ।

खैबर पख्तुनख्वा पीटीआईको बलियो राजनीतिक आधार क्षेत्र मानिन्छ । पाकिस्तानको सङ्घीय सरकारले सुरक्षा अवस्थामा सुधार नआएसम्म प्रान्तमा पीटीआई नेतृत्वको सरकार प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने जनाएको छ ।

सङ्घीय सरकारको आरोपमा प्रान्तीय प्रशासन आतङ्कवादी गतिविधि नियन्त्रण गर्न असफल भएको छ, जसका कारण आपत्कालीन शासन लागू गर्न आवश्यक परेको हो । तर, पीटीआईले सरकारको कदमको विरोध गरेको छ । पार्टीले असाधारण संवैधानिक उपायलाई अलोकतान्त्रिक कदम भन्दै सङ्घीय सरकारले प्रान्तीय सरकारको अधिकार कब्जा गर्न खोजेको आरोप लगाएको छ ।

पूर्वक्रिकेट खेलाडीसमेत रहेका इमरान खान सन् २०२३ अगस्टदेखि जेलमा छन् । सन् २०२३ मेमा सरकार र सैन्य प्रतिष्ठानविरोधी प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनापछि उनीमाथि भ्रष्टाचार तथा हिंसा भड्काएको लगायतका आरोप लगाइएका छन् ।

खान र उनको कानुनी टोलीले भने आफूमाथिका आरोप अस्वीकार गर्दै ती राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको दाबी गर्दै आएका छन् । उनको रिहाइको माग गर्दै पीटीआईका समर्थकहरूले निरन्तर दबाब बढाइरहेका छन् ।

प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार  १६ : ३२  बजे