रौतहट २६ असोज । भारतको पञ्जाबस्थित हुसैनीवाला रेलवे स्टेशन यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । वर्षमा केवल दुई पटक मात्रै रेल आउने यस अनौठो स्टेशनको भिडियो भाइरल भएपछि सर्वसाधारणको ध्यान आकर्षित भएको हो ।
फिरोजपुर र हुसैनीवाला सीमावर्ती क्षेत्रबीच रहेको यो स्टेशन उक्त रेलमार्गको अन्तिम स्टेशन हो । वर्षभरि सुनसान रहने यस स्टेशनमा विशेष अवसरमा मात्रै रेल सञ्चालन हुने गरेको बताइएको छ । प्रत्येक वर्ष मार्च २३ मा सहिद दिवस र अप्रिल १३ मा बैसाखीको अवसरमा यहाँ विशेष रेल आउने गर्छ ।
मार्च २३ लाई भारतमा महान् क्रान्तिकारी भगत सिंहको सहादत दिवसका रूपमा मनाइन्छ । यस दिन देशका विभिन्न भागबाट मानिसहरू हुसैनीवाला सीमा क्षेत्रमा पुगेर भगत सिंहसहित अन्य सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्छन् । यही अवसरमा यात्रुहरूको सुविधाका लागि विशेष रेल सञ्चालन गरिने बताइएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सुनसान रेलवे स्टेशन, रेलमार्ग र त्यहाँ आइपुग्ने रेलका दृश्य देख्न सकिन्छ । रोचक पक्ष के छ भने, रेल जुन दिशाबाट स्टेशनमा आइपुग्छ, त्यही दिशातर्फ फर्किने गरेको भिडियोमा देखिन्छ ।
भिडियो भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस स्टेशनको विशेषताबारे चासो व्यक्त गरिरहेका छन् । कतिपयले स्टेशनको नाम भगत सिंहको नामबाट राख्न सुझाव दिएका छन् भने केहीले आफूहरू त्यही क्षेत्रका बासिन्दा भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
धेरैले यहाँ सञ्चालन हुने विशेष रेलबारे थप जानकारीसमेत मागेका छन् । वर्षभरि सुनसान रहने र विशेष अवसरमा मात्रै रेल आउने यो स्टेशन भारतीय रेल सेवाको एउटा अनौठो उदाहरणका रूपमा चर्चामा आएको छ ।











प्रतिक्रिया