काठमाडौं, २५ असोज । हाम्स ग्रुपअन्तर्गतको हाइली एडभान्स मोटर्सले विश्वप्रसिद्ध मोटरसाइकल तथा स्कुटर ब्रान्ड क्यूजे मोटरका चार नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले टेकूस्थित आफ्नो नयाँ शोरुममा विशेष कार्यक्रम आयोजना गरी नयाँ मोडलहरू सार्वजनिक गरेको हो ।
नेपालका पूर्वराष्ट्रिय क्रिकेट कप्तान तथा क्यूजे मोटरका ब्रान्ड एम्बेसडर पारस खड्काले उक्त कार्यक्रममा मोटरसाइकल तथा स्कुटरका नयाँ मोडल अनावरण गरेका थिए । कम्पनीले नेपाली बजारमा सुरुवाती चरणमा विभिन्न क्षमता र विशेषतायुक्त चार मोडल उपलब्ध गराउने जनाएको छ ।
सन् १९८५ मा स्थापित क्यूजे मोटर विश्वप्रसिद्ध जिली ग्रुपअन्तर्गतको ब्रान्ड हो ।
कम्पनीले इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीको स्वामित्व लिनुका साथै हार्ले–डेभिडसनका लागि समेत मोटरसाइकल निर्माण गर्दै आएको छ । चीनमा २५० सीसीभन्दा माथिको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा लगातार ११ वर्ष शीर्ष स्थानमा रहेको कम्पनीको दाबी छ । साथै, मोटरसाइकल रेसिङका अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत ब्रान्डको सहभागिता रहँदै आएको छ ।
यस्तो छ चार मोडलको मूल्य र विशेषता
कम्पनीले सार्वजनिक गरेका चार मोडलमध्ये एसआरभी २५० ए सबैभन्दा उच्च मूल्यको मोडल हो । यसमा २४९ सीसीको इन्जिन र डुअल डिस्क ब्रेक उपलब्ध छन् । यसको मूल्य ९ लाख ७९ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, १७५ सीसी इन्जिन तथा एबीएस सुरक्षा प्रणालीसहितको एसआरके १८० एसको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।
१२५ सीसीको लिक्विड–कुल्ड इन्जिन र आधुनिक टीएफटी डिस्प्ले भएको एसआरके १२५एसको मूल्य ३ लाख ९९ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । त्यसैगरी, एन्टी–थेफ्ट सिस्टम र कि–लेस इग्निसनजस्ता सुविधा भएको आरकेओ १२५ पीको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ ।
कम्पनीका अनुसार सार्वजनिक गरिएका यी मूल्य ब्रान्डको नेपाल प्रवेश तथा दसैँ पर्वको अवसरमा उपलब्ध गराइएको विशेष छुटअन्तर्गतका हुन् ।
दसैँ अफरमा नगद छुटदेखि छात्रवृत्तिसम्म
क्यूजे मोटरले ब्रान्ड सार्वजनिक तथा दसैँको अवसर पारेर ग्राहकका लागि विशेष अफर पनि घोषणा गरेको छ । अफरअन्तर्गत छनोट गरिएका मोडल खरिद गर्दा २० हजार रुपैयाँसम्म नगद छुट पाइनेछ । त्यस्तै, पाँच जना ग्राहकले १० हजार रुपैयाँसम्मको स्मार्टवाच प्राप्त गर्नेछन् भने तीन जना भाग्यशाली विजेतालाई एक लाख रुपैयाँसम्मको शैक्षिक छात्रवृत्ति प्रदान गरिने कम्पनीले जनाएको छ ।
स्वास्थ्य, शिक्षा, व्यापार तथा कृषि क्षेत्रमा लगानी गर्दै आएको हाम्स ग्रुपले व्यावसायिक सवारीसाधन क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरेपछि अब दुईपाङ्ग्रे सवारीसाधनको बजारमा प्रवेश गरेको हो । कम्पनीका प्रतिनिधिका अनुसार नेपाली ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको प्रविधि, गुणस्तरीय निर्माण र प्रभावकारी बिक्रीपछिको सेवा उपलब्ध गराउने लक्ष्यसहित क्यूजे मोटरका उत्पादन नेपाली बजारमा ल्याइएको हो ।
नयाँ ब्रान्ड र विभिन्न इन्जिन क्षमताका मोडल सार्वजनिक भएसँगै नेपाली दुईपाङ्ग्रे सवारीसाधन बजारमा प्रिमियम मोटरसाइकल तथा आधुनिक स्कुटरका विकल्प थपिएका छन् । कम्पनीले आगामी दिनमा नेपाली ग्राहकको आवश्यकता र बजारको मागअनुसार आफ्नो सेवा तथा उत्पादनको पहुँच विस्तार गर्ने अपेक्षा गरेको छ ।











प्रतिक्रिया