नेकपा केन्द्रीय कार्यसंयोजन समिति बैठक सुरु, गएनन् झलनाथ खनाल

काठमाडौं, २३ असोज । नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कार्यसंयोजन समितिको बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसोबाट बैठक बसिरहेको छ । बैठकले समसामयिक राजनीतिक घटनाक्रम र पार्टी महाधिवेशनबारे निर्णय लिने नेताहरूको भनाइ छ ।

स्थानीय तहको चुनावपछि महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने नेकपा प्रवक्ता प्रकाश ज्वालाले बताउनुभयो । यसअघि घोषणा भएको दुई महिने अभियान सञ्चालनबारे बैठकले निर्णय लिने उहाँले बताउनुभयो । बैठकमा नेता झलनाथ खनालले थालेको समाजवादी जागरण अभियानबारे पनि छलफल हुने जनाइएको छ ।

खनाल भने बैठकमा सहभागी हुनुभएको छैन । स्रोतका अनुसार खनालले नेकपा छाड्ने मनस्थिति बनाउनुभएको छ । सके समाजवादी जागरण अभियान थाल्ने, नसके पुरानै पार्टी एमाले फर्किने उहाँको तयारी छ ।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार  १३ : २४  बजे