काठमाडौं, २२ असोज । नेकपा एमालेले आगामी मङ्सिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । आज बसेको पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको हो । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार राष्ट्रिय भेलामा प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका अध्यक्ष–उपाध्यक्ष, साथै सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन् ।
बैठकले आगामी मङ्सिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णयसमेत गरेको छ । वडा तथा पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय भएको भट्टले जानकारी दिनुभयो । त्यस्तै, विभिन्न कारणले नेतृत्वविहीन रहेका १३ वटा जिल्लामा स्थानीय कमिटीले अध्यक्ष चयन गरी माथिल्लो कमिटीबाट अनुमोदन गराउने निर्णय एमालेले गरेको छ ।
अनुमोदनपछि सम्बन्धित कमिटीलाई औपचारिक रूपमा कार्यान्वयनमा लैजाने तयारी गरिएको छ । स्थायी कमिटी बैठकले पार्टीको संगठनात्मक गतिविधिलाई थप व्यवस्थित र सक्रिय बनाउने उद्देश्यले विभिन्न तहका भेला तथा अधिवेशनको कार्यतालिका अघि सारेको एमालेले जनाएको छ ।











प्रतिक्रिया