काठमाडौं, २२ असोज । नेकपा एमालेको स्थायी कमिटी बैठक चारवटा एजेन्डामाथि छलफल गर्दै सम्पन्न भएको छ। बैठक भोलि पुनः बस्ने गरी सकिएको हो । पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकमा चारवटा एजेन्डामाथि छलफल भएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा पहिलो एजेन्डाका रूपमा वरिष्ठ नेता विद्या भण्डारीको शपथ ग्रहण, दोस्रोमा संगठनसम्बन्धी प्रस्ताव, तेस्रोमा केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी विषय र चौथोमा मधेस प्रदेशको समानुपातिक उम्मेदवार चयनसम्बन्धी विषयमा छलफल भएको थियो ।
यीमध्ये केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी विषयमाथि भोलिको बैठकमा थप छलफल गरी आवश्यक निर्णय गरिने नेता भट्टले बताउनुभयो । यसैबीच, बैठकले मधेस प्रदेशकी समानुपातिक सांसद जैनव खातुनको निधन भएपछि बन्दसूचीमा रहेकी नजमा खातुनलाई समानुपातिक उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले स्थायी कमिटीको बैठक भोलि पुनः बस्नेछ ।











प्रतिक्रिया