काठमाडौँ, १३ साउन । रुसले युक्रेनको जेलमा आक्रमण गर्दा १७ जनाको ज्यान गएको छ । दक्षिणपूर्वी युक्रेनको सीमावर्ती क्षेत्रमा रहेको जेलमा रुसी हवाई आक्रमणमा अन्य ४२ जना घाइते भएका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
क्षेत्रीय नेता इभान फेडेरोभले जापोरिजियामा रातभर भएको आक्रमणले नजिकैका घरहरूमा पनि क्षति पुर्याएको बताउनुभएको छ । यस अवधिमा रुसी सेनाले हवाई ग्लाइड बम प्रयोग गरेर आठ वटा आक्रमण गरेको खबरमा उल्लेख छ ।
यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले जेलमा जानाजानी आक्रमण गरेको भन्दै निन्दा गर्नुभएको छ । उहाँले रुसलाई युक्रेनीहरूको हत्या गरेको आरोप पनि लगाउनुभएको छ ।
जापोरिजिया युक्रेनको चार पूर्वी क्षेत्रहरूमध्ये एक हो जसलाई रुसले सन् २०२२ देखि कब्जा गरेको दाबी गरेको छ, यद्यपि यो क्षेत्र धेरै हदसम्म युक्रेनी नियन्त्रणमा छ ।
युक्रेनको न्याय मन्त्रालयले जेलमा चार वटा बम विस्फोट भएको र त्यसबाट भोजन कक्ष, प्रशासनिक मुख्यालय र क्वारेन्टाइन क्षेत्र ध्वस्त भएको बताएको छ । मन्त्रालयले आक्रमणमा ज्यान गुमाउने र घाइते हुने सबै कैदी भएका बताएको छ ।
प्रतिक्रिया