रौतहट २० असोज । भारत बिहार पूर्वी चम्पारणको मोतिहारीस्थित स्टेशन रोड निवासी प्रसिद्ध न्युरो सर्जन डा. प्रकाश खेतानले चिकित्सा क्षेत्रमा अर्को महत्वपूर्ण सफलता हासिल गर्नुभएको छ । प्रयागराजस्थित आफ्नै सुपर स्पेसियालिटी अस्पतालमा डा. खेतानले नाकको बाटो हुँदै एन्डोस्कोपिक विधिबाट ब्रेन ट्युमर निकाल्न सफल हुनुभएको हो ।
जटिल मानिने उक्त शल्यक्रियामा बिरामीको टाउकोको हड्डी नखोली नाकको बाटोबाट दूरबिन (एन्डोस्कोप) प्रवेश गराएर ट्युमर निकालिएको हो । शल्यक्रियापछि ट्युमरको दबाबका कारण प्रभावित भएको बिरामीको आँखाको दृष्टिसमेत पूर्णरूपमा फर्किएको बताइएको छ ।
डा. खेतानका अनुसार वरिष्ठ चिकित्सकहरूको टोलीले एन्डोस्कोपिक ट्रान्सनेजल ट्रान्सफेनोइडल सेलर–सुप्रासेलर पिट्युटरी म्याक्रोएडेनोमाको सफल शल्यक्रिया गरेको हो । पिट्युटरी ग्रन्थिमा रहेको ट्युमर निकै ठूलो भइसकेको थियो । ट्युमरले आँखाको नसामा दबाब दिँदा बिरामीको दृष्टि निरन्तर कमजोर हुँदै गएको थियो । यस्तो अवस्थामा गरिने शल्यक्रिया जटिल मानिन्छ ।
यस प्रविधिमा टाउकोको हड्डी खोलेर मस्तिष्कसम्म पुग्नुको सट्टा नाकको बाटोबाट एन्डोस्कोप प्रवेश गराई ट्युमरसम्म पुगिन्छ । यसबाट मस्तिष्क खोल्नुपर्ने आवश्यकता पर्दैन । डा. खेतानको टोलीले यही प्रविधिबाट ट्युमर हटाएको हो । शल्यक्रियापछि बिरामीको दृष्टि फर्किनुलाई उपचारको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
प्रयागराजको नैसीपुर निवासी बिरामी विजया कुमारीका पति विजयबहादुरले शल्यक्रियापछि डा। खेतानप्रति आभार व्यक्त गर्दै भन्नुभयो,‘डा. खेतान हाम्रा लागि भगवान् हुनुहुन्छ । उहाँले हाम्रो परिवारलाई बचाउनुभयो ।’ बताइएअनुसार कर्पोरेट अस्पतालमा यस्तो जटिल शल्यक्रियाका लागि करिब १५ देखि २० लाख रुपैयाँसम्म खर्च लाग्ने गर्छ ।
तर डा. खेतानले उक्त शल्यक्रिया निकै कम खर्चमा सफलतापूर्वक गरेको जनाइएको छ । उहाँको यो सफलतापछि उत्तर प्रदेशका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यले फोन गरेर बधाई दिनुभएको छ । विभिन्न वरिष्ठ क्याबिनेट मन्त्रीहरूले समेत उहाँलाई शुभकामना दिनुभएको छ ।
डा. खेतानको नाम ठूलो ब्रेन ट्युमर निकाल्नेलगायत विभिन्न जटिल शल्यक्रियाका कारण यसअघि नै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ज रहेको बताइएको छ । लिम्का बुकसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेकर्डसमेत उनको नाममा रहेको जनाइएको छ ।
मोतिहारीको स्टेशन रोडमा जन्मिएका डा. खेतानका पिता स्वर्गीय पशुपतिनाथ खेतान र आमा स्वर्गीय सावित्री खेतान शहरका प्रतिष्ठित समाजसेवीका रूपमा परिचित हुनुहुन्थ्यो । प्रयागराजमा सुपर स्पेसियालिटी अस्पताल सञ्चालन गर्दै आएका डा. खेतान हरेक महिना चार दिन मोतिहारी आउने गर्नुहुन्छ । उहाँले आफ्ना आमाबुवाको स्मृतिमा बिरामीको सेवा गर्दै आउनुभएको छ ।











प्रतिक्रिया