उद्योगपति विनोद चौधरीले कांग्रेस उपसभापतिमा दर्ता गराए उम्मेदवारी

काठमाडौं, २० असोज । उद्योगपति एवं कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले उपसभापतिमा उम्मेदवारी दर्ता गर्नुभएको छ । आज दिउँसो कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत राष्ट्रिय सभागृहमा खडा गरिएको निर्वाचन कार्यालयमा चौधरीले उपसभापतिको उम्मेदवारी मनोनयन गर्नुभएको हो ।

चौधरीले खुलातर्फको उपसभापतिमा उम्मेदवारी दर्ता गर्नुभएको हो । कांग्रेसका एक वरिष्ठ, एक महिला र दुई खुलातर्फ उपसभापतिमा उम्मेदवारी दिन सकिन्छ । चौधरीले समावेशीतर्फ उम्मेदवार दर्ता गर्नुभएको हो । उद्योग व्यवसायको क्षेत्रमा लामो समय बिताएका चौधरीले राजनीतिमा आफ्नो आगामी भूमिका खोज्दै गर्दा यसपटकको उम्मेदवारीलाई भने केवल पार्टीको एउटा पदका लागि गरिएको दाबीका रूपमा प्रस्तुत गर्नुभएको छैन ।

चौधरीको दाबीको केन्द्रमा अर्थतन्त्र छ, निजी क्षेत्र छ र लगानी/उत्पादन छ । रोजगारी सिर्जना छ । सबैभन्दा महत्त्वपूर्ण कांग्रेसले अब राजनीतिक परिवर्तनको नेतृत्व गर्ने पार्टीबाट आर्थिक रूपान्तरणको नेतृत्व गर्ने पार्टी बन्नुपर्ने उहाँ तर्क छ । चौधरीको बुझाइमा नेपालले राजनीतिक परिवर्तनका धेरै चरण पार गरिसकेको छ ।

लोकतन्त्रका लागि संघर्ष भयो, संविधान बन्यो, शासन व्यवस्था परिवर्तन भयो तर राजनीतिक उपलब्धिलाई नागरिकको आर्थिक जीवनमा अपेक्षित रूपमा रूपान्तरण गर्न सकिएको छैन । युवाको ठूलो हिस्सा रोजगारीका लागि विदेशिनुपर्ने अवस्था छ ।

लगानीकर्ता नीतिगत अनिश्चिततासँग जुधिरहेका छन् । निजी क्षेत्र र राज्यबीच अझै पूर्ण विश्वासको वातावरण बन्न सकेको छैन । त्यही भएर उहाँले पार्टीको पदाधिकारी तहमै रहेर निजी क्षेत्रमा काम गर्न चाहेको बताउने गर्नुभएको छ ।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार  १४ : ३९  बजे