कांग्रेस केन्द्रीय सदस्यमा गायक प्रकाश कटुवाल, युवाको आवाज उठाउने प्रतिबद्धता

काठमाडौं, १९ असोज । चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश कटुवालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (खुला) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

रामेछापबाट लोकप्रिय मतसहित खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित कटुवालले कलाकारिता, सामाजिक क्षेत्र र युवासँगको आफ्नो सम्बन्धलाई राजनीतिक जिम्मेवारीसँग जोड्दै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्षसमेत रहनुभएका कटुवाल पछिल्लो समय कांग्रेसका संगठनात्मक गतिविधिमा सक्रिय हुनुहुन्छ । कलाकारिताबाट स्थापित जनसम्बन्धलाई समाजसेवा र राजनीतिक जिम्मेवारीसँग जोड्ने उद्देश्यले कांग्रेसको केन्द्रीय नेतृत्वमा आउन चाहेको उहाँले बताउनुभएको छ ।

रामेछापको उमाकुण्ड गाउँपालिका–३ का क्षेत्रीय प्रतिनिधिसमेत रहनुभएका कटुवाल १५औँ महाधिवेशनका लागि खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो । महाधिवेशन प्रतिनिधिका रूपमा प्राप्त विश्वासलाई थप जिम्मेवारीका रूपमा लिँदै उहाँले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको बताउनुभएको छ ।

कटुवालले रामेछापको आवाज कांग्रेसको केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने र युवालाई पार्टीको मूलधारमा थप सक्रिय बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राख्नुभएको छ ।

‘केन्द्रीय महाधिवेशन प्रतिनिधि केन्द्रमा भोट हाल्न जाने मात्रै होइन, आफ्नो ठाउँको आवाज केन्द्रसम्म पुर्‍याउने र पार्टीभित्र आफ्नो क्षेत्रको प्रभावकारी उपस्थिति स्थापित गर्ने जिम्मेवारी पनि हो,’ उहाँले भन्नुभएको छ ।

कांग्रेसको संगठनलाई समयअनुकूल, चलायमान र जनतासँग जोडिएको बनाउन युवाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको उहाँको भनाइ छ । नयाँ पुस्तालाई पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा अवसर दिनुपर्ने तथा कार्यकर्ताका समस्या र आवाज नेतृत्व तहसम्म पुर्‍याउन आफूले भूमिका खेल्ने उहाँले बताउनुभएको छ ।

कलाकारितासँगै सामाजिक क्षेत्रमा समेत सक्रिय कटुवालले राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षका रूपमा कलाकारका हकहित तथा सांगीतिक क्षेत्रका विषयमा काम गर्दै आउनुभएको छ । कलाकारिता क्षेत्रबाट बनाएको जनसम्पर्क र युवामाझको पहुँचलाई पार्टी संगठन र जनसेवामा उपयोग गर्ने उहाँको भनाइ छ ।

कटुवालले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत लाभ वा पद प्राप्तिको माध्यम नभई जनताको सेवामा थप जिम्मेवारी लिने अवसरका रूपमा व्याख्या गर्नुभएको छ ।

‘रामेछापका मतदाताले ममाथि गरेको विश्वासलाई म पदको सम्मानभन्दा जनसेवाको जिम्मेवारीका रूपमा लिन्छु । अब त्यो विश्वासलाई संगठन निर्माण र जनताको सेवामा रूपान्तरण गर्ने मेरो दायित्व हो,’ उहाँले भन्नुभएको छ ।

उहाँले कांग्रेसका सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिसँग केन्द्रीय सदस्य पदमा आफूलाई मत दिएर विजयी गराउन आग्रहसमेत गर्नुभएको छ ।

कटुवालको उम्मेदवारीसँगै कांग्रेसको केन्द्रीय नेतृत्वमा कलाकार तथा नयाँ पुस्ताको प्रतिनिधित्वको विषय पनि चर्चामा आएको छ ।

प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार  १९ : १६  बजे