काठमाडौं, १६ असोज । नेपाली कांग्रेसले १५औं महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको छ । महाधिवेशनको तयारीका विषयमा जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत कांग्रेसले देश शोकमा रहेकाले महाधिवेशनमा झाँकीसहितको तामझाम नगर्ने निर्णय भएको जनाएको हो ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा वातावरणमैत्री प्रचारप्रसार गर्न सबै उम्मेदवारहरुलाई आग्रह गरिएको बताउनुभयो । महाधिवेशनको तयारी अन्तिम अवस्थामा पुगिसकेको उहाँले बताउनुभयो । ‘यो अधिवेशन अत्यन्तै मितव्ययी रूपमा सम्पन्न गर्न गइरहेको छ ।
प्रचारका कुनै झाँकीहरू, तस्बिरहरू, झकिझकाउ धेरै देख्नुहुने छैन । देशमा ठूलो विपत् आएको अवस्थामा हाम्रो बाध्यात्मक अवस्थाको अधिवेशन हो,’ उहाँले भन्नुभयो । कांग्रेसले महाधिवेशनमा डिजिटल बोर्डहरु राख्ने प्रवक्ता चालिसेले जानकारी दिनुभयो । उहाँले प्रचारप्रसारका लागि कुनै पनि पर्चा नछाप्न पनि उम्मेदवारहरुलाई आग्रह गर्नुभयो ।
कांग्रेसको महाधिवेशनमा ७७ सय प्रतिनिधि सहभागी हुने भएका छन् । प्रतिनिधि छनोट गर्ने क्रम अन्तिम चरणमा पुगिसकेको बताउनुभयो ।
‘महाधिवेशनमा तामझामसहित प्रचारप्रसार सामग्री सहरमा टाँसिंदैन, सकेसम्म प्रविधिको प्रयोग गर्न उम्मेदवारहरुलाई आग्रह गरिएको छ, वातावरणमैत्री प्रचारप्रसार गर्ने नीति पार्टीले लिएको छ,’ उहाँले भन्नुभयो । महाधिवेशनमा आउने प्रतिनिधिलाई बिहान, दिउँसो र बेलुकाको खाना भृकुटीमण्डपमा व्यवस्था मिलाएको भए पनि बासको व्यवस्था आफैँले गर्नुपर्ने उहाँको भनाइ छ ।











प्रतिक्रिया