म्यादी प्रहरीको कपडा खरिदबारे छानबिन समिति गठन, मनिष झालाई जिम्मेवारी

काठमाडौं, १६ असोज । गत फागुन २१ मा सम्पन्न आमनिर्वाचनमा खटिएका निर्वाचन (म्यादी) प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरण अध्ययन गर्न छानबिन समिति गठन भएको छ । आज बसेको लेखा समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा नौ सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

समितिका सदस्यमा ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही छन्। समितिले दुई महिनाभित्र अध्ययन गरी प्रतिवेदन सार्वजनिक लेखा समितिमा बुझाउनेछ ।

निर्वाचन प्रहरीका लागि कपडा खरिदमा अनियमितताको प्रश्न उठेपछि लेखा समितिमा अध्ययन तथा छानबिन समिति गठन गर्ने विषयमा सांसदहरूबीच मतभेद देखिएको थियो । बैठकमा सांसद खगेन्द्र सुनारले कपडा खरिदमा अनियमितताको प्रश्न उठिसक्दा पनि समितिले प्रभावकारी चासो नदेखाएको भन्दै प्रश्न उठाएका थिए ।

सम्बन्धित कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरिए पनि फाइल प्राप्त भए–नभएको जानकारीसमेत सदस्यहरूलाई नदिइएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको थियो । रास्वपा प्रमुख सचेतक खुश्बु ओलीले भने छानबिनअघि सम्बन्धित तथ्य, कागजात र प्रतिवेदन अध्ययन गर्नुपर्ने बताउनुभयो ।

सामाजिक सञ्जालमा आएका वा सुनेका आधारमा मात्रै निष्कर्षमा पुग्न नहुने उहाँको भनाइ थियो । एमाले सांसद ऐन महरले उठेका प्रश्नको निरूपण आवश्यक रहेको भन्दै अध्ययन समिति गठनको प्रस्तावमा समर्थन जनाउनुभयो ।

नेपाल प्रहरीजस्तो संस्थामाथि प्रश्न उठिसकेपछि त्यसलाई बेवास्ता गर्दा संस्थाको विश्वसनीयता र कर्मचारीको मनोबलमा असर पर्न सक्ने उहाँको भनाइ थियो । समितिले सम्बन्धित कागजात, प्रतिवेदन तथा सांसदहरूले बैठकमा उठाएका प्रश्न र धारणाको अध्ययन गरी मूल समितिलाई प्रतिवेदन बुझाउनेछ ।

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार  १४ : १६  बजे