काठमाडौं, १२ साउन । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखराको गगनगौंडा भन्ने ठाउँमा भेटिएका छन् ।बेपत्ता भएका १६ जना नै पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा भन्ने ठाउँमा भेटिएको जिल्ला प्रहरी कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिनुभयो । उहाँका अनुसार, सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएका हुन् । ‘दुईवटा घरमा बाँडिएर बसेका रहेछन्,’ उहाँले भन्नुभयो । उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय सिसुवा ल्याएर आफन्तको जिम्मा लगाउने काम भइरहेको उहाँले बताउनुभयो । उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बसेका थिए ।
उक्त होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट गरेर निस्किएका थिए ।
उहाँँका अनुसार तीन वटा कोठा लिएर उनीहरू बसेका थिए ।
प्रतिक्रिया