माधव नेपाललाई वारेस राख्न विशेष अदालतले दिएन अनुमति

काठमाडौं, १२ साउन ।  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई वारेस राख्न विशेष अदालतले अनुमति दिएन। नेपालले आफू राजनीतिक गतिविधिका लागि देशभर हिँडिरहनु पर्ने भएकाले मुद्दामा आफ्नो प्रतिनिधित्व वारेशमार्फत गरिपाउँ भन्दै दिएको निवेदनमाथि सुनुवाइ गर्दै विशेषले अस्वीकार गरेको हो। सोमबार न्यायाधीश नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई वारेश राख्ने अनुमति नदिएको हो। पतञ्जली जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीका रुपमा नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।
असार ११ गते थुनछेक आदेशका क्रममा नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न अदोश दिएको थियो। उनलाई साउन १३ ९मंगलबार० तारिखका लागि उपस्थित हुन आदेश दिएको थियो। विशेषले नेपालमाथि तीन वर्षभन्दा बढी कैद सजाय हुने फौजदारी मुद्दा लागेकाले वारेशमार्फत प्रतिनिधित्वन गर्न पाउने सुविधा नदिएको हो।
जारी आदेशमा भनिएको छ, ‘व्यवस्था अनुसार यी प्रतिवादीलाई तीन वर्ष भन्दा वढी कैद सजाय हुन सक्ने कसुरको अभियोग लागेको देखियो। तसर्थ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९५ को उपदफा (१) को खण्ड (क) को व्यवस्था अनुसार यी प्रतिवादीलाई वारेस राख्ने अनुमति प्रदान गर्न मिलेन।’

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार  २० : २५  बजे