काठमाडौं, १४ असोज । प्रतिनिधिसभामा एक हजार र पाँच सय रुपैयाँका नोट नोटबन्दी गर्नुपर्ने माग उठेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले देशमा वर्षौंदेखि थुपारिएको भनिएको कालोधन नियन्त्रण गर्न एक हजार र पाँच सयका नोट तत्काल नोटबन्दी गर्न सरकारसँग माग गर्नुभएको छ।
बुधबार प्रतिनिधिसभामा बोल्दै उहाँले ३५ वर्षदेखि देश लुटेर कालोधन थुपारिएको आरोप लगाउँदै त्यस्तो रकम विभिन्न ठाउँमा व्यवस्थापन गरिएको सुनिएको बताउनुभयो।
“सरकारले नोटबन्दी गर्नुपर्यो । यी नोटलाई बैंकिङ प्रणालीमा ल्याउनुपर्यो र नयाँ स्वरूपमा नयाँ नोट जारी गर्नुपर्यो,” उहाँले भन्नुभयो।
न्यौपानेले भ्रष्टाचारबाट लुकाइएको रकमलाई बैंकिङ प्रणालीमा ल्याउन नोटबन्दी प्रभावकारी उपाय हुनसक्ने दाबी गर्नुभयो। आवश्यकताअनुसार मात्रै नयाँ नोट जारी गर्नुपर्ने उहाँको भनाइ थियो।
न्यौपानेपछि बोल्दै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले पनि एक हजार र पाँच सयका नोट नोटबन्दी गर्ने प्रस्तावमा समर्थन जनाउनुभयो।
“रास्वपाको सरकारलाई अविलम्ब पुराना नोटहरूलाई, हजार र पाँच सयका नोटलाई नोटबन्दी गर्न जोडदार माग गर्दछु,” उहाँले भन्नुभयो।
दुलालले नोटबन्दीका लागि आवश्यक परे संघीय संसद्का सदस्यको हस्ताक्षरसहित सहयोग गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो।
उहाँले रास्वपालाई प्रश्न गर्दै भ्रष्टाचारबाट जम्मा गरिएको भनिएको रकम नियन्त्रण गर्न एक हजार र पाँच सयका नोट नोटबन्दी गर्न के ले रोकेको हो भन्ने प्रश्नसमेत गर्नुभयो। साथै, तत्काल नोटबन्दीको प्रक्रिया अघि बढाउन सभामुखमार्फत रुलिङ गर्न माग गर्नुभयो।
न्यौपाने र दुलालको यो माग संसद्मा उठेको नोटबन्दीसम्बन्धी पछिल्लो बहसका रूपमा आएको हो।











प्रतिक्रिया