होन्डाका गाडी खरिदमा एनआईसी एशिया बैंकले सहुलियत कर्जा दिने, ७ वर्षसम्म स्थिर ब्याजदर

काठमाडौं, १२ असोज । एनआईसी एशिया बैंकका ग्राहकहरूले होन्डा ब्राण्डका चारपाङ्ग्रे सवारीसाधन खरिद गर्दा विशेष छुट तथा आकर्षक ब्याजदरमा सवारी कर्जा (अटो लोन) पाउने भएका छन् । ग्राहकहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा एनआईसी एशिया बैंक लिमिटेड र होन्डाका आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा बैंकका तर्फबाट रिटेल बिजनेसका चिफ बिजनेस अफिसर अमित केसी र स्याकार ट्रेडिङका तर्फबाट सीईओ सिर्जना ज्योतिले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार स्याकार ट्रेडिङमार्फत बिक्री हुने होन्डा ब्राण्डका कुनै पनि गाडी खरिद गर्दा ग्राहकले दुई प्रकारका ब्याजदर विकल्पमा कर्जा सुविधा रोज्न सक्नेछन् ।

परिवर्तनीय ब्याजदर लिन चाहने ग्राहकले बैंकको औसत आधार दरमा १ प्रतिशत मात्र थप गरी कर्जा पाउने बैंकले जनाएको छ । त्यस्तै, स्थिर ब्याजदर रोज्ने ग्राहकका लागि बैंकले ७ वर्षको अवधिसम्म ५.९९ प्रतिशतको स्थिर ब्याजदरमै सवारी कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

यसका अतिरिक्त होन्डाका गाडी खरिद गर्ने ग्राहकलाई प्रशासनिक सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिनुका साथै छिटो र छरितो रूपमा कर्जा प्रक्रिया टुंग्याउने प्रबन्ध बैंकले मिलाएको छ । यस सहकार्यबाट ग्राहकहरूलाई सुलभ वित्तीय सुविधाका साथ होन्डा ब्राण्डका उत्कृष्ट तथा लोकप्रिय गाडी खरिद गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार  १९ : ११  बजे