काठमाडौं, १२ असोज । प्रतिनिधिसभाको सोमबारको बैठकमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ र रिहाइको विषयले प्रवेश पाएको छ । एमाले प्रमुख सचेतक ऐन महरले सरकारले पूर्वप्रधानन्यायधीश जबरालाई मध्यरातमा गुण्डागर्दी शैलीमा पक्राउ गरिएको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठकमा उहाँले राज्य आतंकको बर्बर नमुना प्रस्तुत गरेको आरोप लगाउनुभयो । ‘बिनाकसुर, बिनाअभियोग पक्राउ गरिएको छ । हामी भन्न चाहन्छौँ कानुनभन्दा र प्रश्नभन्दा माथि लोकतन्त्रमा कोही पनि हुँदैन,’ उहाँले भन्नुभयो । महरले विरोध गरेको आधारमा नै सरकारले हुर्मत लिने काम गरिरहेको टिप्पणी गर्नुभयो ।
पूर्वप्रधानन्याधीशलाई थ्रेट दिनेलाई छोडेर उहाँलाई पक्राउ गरिएकोमा महरले आपत्ति जनाउनुभएको हो । नेकपाका प्रमुख सचेतक युवराज दुललाले जबरा पक्राउबारे सरकारलाई प्रश्नैप्रश्न गर्नुभएको छ । उहाँले बिनापक्राउ पुर्जी, बिनाकारण पक्राउ गरेर सरकारले गैरकानुनी राज्यको दृष्टान्त देखाएको बताउनुभयो ।
दुलालले देश कानुनी बाटोमा हिँड्दैछ कि अराजकतको बाटोमा भन्ने प्रश्नको जवाफ माग्नुभयो । उहाँले सुरक्षा थ्रेट दिनेलाई गिरफ्तार गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई भन्ने प्रश्न गर्नुभयो । ‘यो दादागिरीको अन्त्य हुनुपर्छ । के गरेपछि यस्तो बहुलठ्ठीपूर्ण पागलपन आउँछ ? यो देश हाम्रो पनि हो । सदासदाको पेवाजस्तो सरकार चलाउन पाइँदैन’, दुलालले भन्नुभयो ।
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले जबरा पक्राउको विरोध गर्दै सरकारको जवाफ माग्नुभयो । पछिल्लो समय भइरहेका पक्राउ र रिहाइको शैलीप्रति पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
घटनाको गम्भीरतालाई नजरअन्दाज गर्दै हचुवाका भरमा पक्राउ गर्ने र भोलिपल्टै छोड्ने सरकारी कार्यशैली अनुपयुक्त भएको उहाँको भनाइ छ । ‘विषय कति गम्भीर हो भन्ने कुराको ख्याल गरेर मात्रै पक्राउ गरिनुपर्छ । पक्राउ गर्ने र भोलिपल्टै छोड्ने काम कत्तिको उपयुक्त हो ?’ सांसद राईको प्रश्न गनुर््भयो ।











प्रतिक्रिया