एमालेले वामपन्थी एकताको निर्णय गर्नुपर्छ : विष्णु रिजाल

काठमाडौं, ७ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीले वामपन्थी एकताको निर्णय गर्दै समग्र कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि गम्भीर बहस गर्नुपर्ने बताउनुभएको छ।

बुधबार एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै रिजालले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनले पार्टीका कमजोरी पहिचान गर्नुका साथै निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी लिएर आगामी बाटोको मार्गचित्र प्रस्तुत गरेको भन्दै समर्थन गर्नुभयो।

उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले प्रतिवेदनमाथि गरेको व्याख्याले पार्टीका मुख्य नेताबीच देखिएको अविश्वास हटेको उहाँको भनाइ थियो। आगामी स्थानीय तह निर्वाचनलाई पार्टीको मुख्य कार्यभार बनाउनुपर्ने भन्दै रिजालले केन्द्रीय कमिटी सदस्यलाई आफ्ना पालिका जिताउने जिम्मेवारी दिन र उम्मेदवार छनोट प्रक्रियादेखि नै सहभागी गराउने संस्थागत व्यवस्था गर्न प्रस्ताव गर्नुभयो।

रिजालले नेपाली सेनाप्रति एमालेको दृष्टिकोण पनि स्पष्ट पार्नुपर्ने माग गर्नुभयो। भदौ २३ र २४ गतेका घटनामा सेनाको भूमिकाबारे विभिन्न प्रश्न अनुत्तरित रहेको उल्लेख गर्दै उहाँले पार्टी नेतृत्वको सुरक्षा र सहजीकरणमा सेनाले भूमिका खेलेको अवस्थामा संसद्मा सेनालाई एमालेको मुख्य निशानाजस्तो गरी प्रस्तुत गरिँदा पार्टीको दृष्टिकोणबारे भ्रम उत्पन्न भएको बताउनुभयो।

उहाँले एमालेको नीति र नेतृत्वमा नेकपालगायत अन्य वामपन्थी दलसँग एकता गर्नुपर्ने धारणा राख्नुभयो। अहिलेका नारा, सिद्धान्त, रणनीति, कार्यनीति र कार्यशैलीप्रति नयाँ पुस्ता आकर्षित हुन नसकेको भन्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि नयाँ ढंगले बहस आवश्यक रहेको उहाँले बताउनुभयो।

पार्टीलाई फिजिकलसँगै डिजिटल मोर्चामा पनि सक्रिय बनाउनुपर्ने रिजालको प्रस्ताव छ। केन्द्रमा २४ घण्टा सक्रिय रहने छुट्टै डिजिटल विभाग गठन गरी प्रदेश र स्थानीय तहसम्म त्यसलाई विस्तार गर्नुपर्ने उहाँले बताउनुभयो।

नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्नु अहिलेको मुख्य चुनौती भएको भन्दै रिजालले पार्टीसँग असम्बद्ध भए पनि आफ्नो क्षेत्रमा राम्रो काम गरिरहेका योग्य युवा र व्यवसायीलाई पार्टीमा ल्याउनुपर्ने बताउनुभयो। पार्टीका विभागमा कम्तीमा ५० प्रतिशत विशेषज्ञ युवालाई समेट्ने नीति बनाउनुपर्ने उहाँको प्रस्ताव छ।

रिजालले एमालेका विगतका नीति, नारा र कार्यनीतिको समेत पुनरावलोकन आवश्यक रहेको बताउनुभयो। ‘निर्णायक राष्ट्रिय शक्ति’ बनाउने नारा, एमाले र कांग्रेस मात्रै रहने राजनीतिक धारणा तथा ‘छैन कसैसँग शत्रुता, छ सबैसँग मित्रता’ भन्ने नाराको वर्तमान सन्दर्भमा समीक्षा गर्नुपर्ने उहाँको भनाइ थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति एमालेले अपनाएको रणनीतिको समेत समीक्षा गर्नुपर्ने भन्दै उहाँले २०७९ सालको निर्वाचनपछि रास्वपाको उदयलाई एमालेले कसरी सम्बोधन गर्‍यो र त्यसबाट पार्टीलाई फाइदा भयो कि घाटा भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो।

सत्ता राजनीतिमा एमालेको सहभागितामाथि पनि रिजालले प्रश्न उठाउनुभयो। २०४७ सालयता ३६ वर्षमा मुलुकमा बनेका २९ सरकारमध्ये १७ वटामा एमाले सहभागी भएको र सातपटक सरकारको नेतृत्व गरेको तथ्य उल्लेख गर्दै उहाँले जुनसुकै शक्ति र परिस्थितिमा सरकारमा जाने कार्यनीतिले पार्टीलाई सत्ता समीकरणभन्दा बाहिरबाट सोच्ने अवसर नदिएको बताउनुभयो।

समाजवाद–साम्यवादलाई रणनीति मान्ने तर सरकार निर्माणमा जुनसुकै शक्तिसँग सहकार्य गर्ने कार्यनीतिले पार्टीको रणनीतिक लक्ष्यलाई सेवा गरेको हो वा पार्टीलाई ‘सत्ता बजारको उपभोक्ता’ मात्र बनाएको हो भन्ने समीक्षा गर्नुपर्ने रिजालको भनाइ थियो। उहाँले या त कार्यनीति परिवर्तन गर्नुपर्ने वा समाजवाद–साम्यवादको रणनीतिमाथि नै पुनर्विचार गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ।

प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार  १८ : ४२  बजे