‘मिडिया हाइपले कोही दिगो नेता बन्दैन’ : प्रदीप ज्ञवाली

मलाई छद्म रूपमा लेख्नुपर्ने आवश्यकता छैन

काठमाडौं, ७ असोज । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीभित्रका समस्या समाधानका लागि समन्वयकारी भूमिका निर्वाह गर्नु गलत नभएको बताउनुभएको छ । पुनर्गठन कार्यदलको विषयमा छलफल हुँदा आफ्नो नाममा छुट्टै प्रतिवेदन रहेको चर्चा भएको भन्दै उहाँले त्यसको खण्डन गर्नुभएको छ ।

ज्ञवालीले आफूले लेखेका सामग्री र प्रकाशित कृतिहरू सार्वजनिक नै रहेको उल्लेख गर्दै छद्म रूपमा प्रतिवेदन लेख्नुपर्ने आवश्यकता आफूलाई नरहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभयो,‘प्रदीप ज्ञवालीको कुनै छुट्टै प्रतिवेदन छैन । कमरेडहरूलाई थाहै होला, म लेख्छु । दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्, हजारभन्दा बढी लेख पत्रिकामा छापिएका छन् र अन्तर्राष्ट्रिय फोरममा प्रस्तुत गरिएका २० औँ पेपर छन् । त्यसैले मलाई छद्म रूपमा लेख्नुपर्ने आवश्यकता छैन ।’

पार्टीभित्र समस्या उत्पन्न हुँदा समन्वयको भूमिकामा उभिनु कुनै गल्ती नभएको उहाँको भनाइ छ । पार्टीभित्र ध्रुवीकरण चर्किएको अवस्थामा एउटा कित्तामा उभिएर अतिवादी धारणा सार्वजनिक गर्दा सञ्चारमाध्यममा चर्चा पाउन सकिने भए पनि आफूलाई त्यस्तो प्रचारको लोभ नभएको उहाँले बताउनुभएको छ ।

उहाँले पार्टीभित्रका समस्या समाधानमा सबै नेताकार्यकर्ताले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने धारणा राख्नुभएको छ । ज्ञवालीले पार्टीभित्रका कतिपय विषयलाई पूर्वप्रक्षेपण गर्दै सञ्चारमाध्यममा बहस र ‘मिडिया ट्रायल’ गर्ने तथा आफ्ना असहमतिलाई विरोधको तहसम्म पुर्याएर सामाजिक सञ्जालमा फैलाउने प्रवृत्ति बढेको बताउनुभएको छ ।

‘यसले एकछिनलाई न्यानो देला । तर मिडिया हाइपले कोही दिगो नेता बन्दैन,’ उहाँले भन्नुभयो । यस्तो गतिविधिले तत्काल सन्तुष्टि दिए पनि पार्टीका समस्या समाधान गर्ने स्थायी उपाय भने नभएको उहाँको भनाइ छ ।

प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार  १६ : १८  बजे