साम्राओङ, ११ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राति ढिलो हस्तक्षेपपछि दुवै पक्षले युद्धविरामबारे छलफल गर्न तयार भएको भने पनि थाइल्यान्ड र कम्बोडियाबिच आइतबार चौथो दिन पनि झडप भएको छ । लाखौँ विदेशी पर्यटकहरूको लोकप्रिय गन्तव्य रहेका यी छिमेकी राष्ट्रहरू विवादित सिमाना मुद्दालाई लिएर वर्षौंको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमा फसेका छन् ।
दुवै पक्षबिच झडप हुँदा कम्तीमा ३३ जनाको मृत्यु पुष्टि भएको छ र दुई लाखभन्दा बढी विस्थापित भएका छन् । शनिबार राति ढिलो ट्रम्पले दुवै प्रधानमन्त्रीसँग कुरा गरेपछि र उहाँहरूले भेटेर युद्धविरामलाई ‘चाँडो समाधान’ गर्न सहमत भएको बताएपछि दुवैले लडाइँ अन्त्य गर्न वार्ता सुरु गर्न इच्छुक रहेको बताउनुभयो ।
तर उत्तरी कम्बोडिया र उत्तरपूर्वी थाइल्यान्डबिचको सीमावर्ती क्षेत्रमा रहेका लामो समयदेखि विवादित दुई वटा प्राचीन मन्दिर नजिक आइतबार बिहान ताजा झडप सुरु भयो । कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेआताले थाई सेनाले बिहान ४ः५० बजे मन्दिरहरू वरपरका क्षेत्रहरूमा आक्रमण सुरु गरेको बताउनुभयो ।
एएफपीका पत्रकारहरूले तोपको नियमित धमाकाले मोर्चाबाट करिब २० किलोमिटर (१२ माइल) टाढा रहेको कम्बोडियाली सहर साम्राओङका झ्यालहरू हल्लिरहेको बताए । थाई सेनाका उप प्रवक्ता रित्चा सुक्सुवानोनले दुवै पक्षले रणनीतिक स्थानहरूको नियन्त्रणका लागि लड्दा कम्बोडियाली सेनाले बिहान ४ः०० बजे तोप प्रहार सुरु गरेको बताउनुभयो ।
युद्धविरामका आह्वानहरू
कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले आइतबार उहाँको देश ‘दुई सशस्त्र बलबिच तत्काल र बिना शर्त युद्धविरामको प्रस्तावसँग सहमत’ भएको बताउनुभयो । उहाँले आफ्ना विदेशमन्त्री प्राक सोखोनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग थाईहरूसँग समन्वय गर्न कुरा गर्ने बताउनुभयो, तर बैङ्ककलाई कुनै पनि सम्झौताबाट पछि हट्न विरुद्ध चेतावनी दिनुभयो ।
ट्रम्पको फोनपछि थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुम्थाम वेचयाचाईले सिद्धान्ततः युद्धविराममा प्रवेश गर्न र ‘सकेसम्म चाँडो’ वार्ता सुरु गर्न सहमत भएको बताउनुभयो । दुवै पक्षले सङ्कट अन्त्य गर्न वार्ताको इच्छा व्यक्त गरे पनि अहिलेसम्म कुनै पनि पक्ष पछि हट्न इच्छुक भएको छैन । आइतबार फेरि उनीहरूले एकअर्कामाथि शान्ति प्रयासहरू कमजोर पारेको दोष लगाएका छन् ।
थाई विदेश मन्त्रालयले पनि कम्बोडियाली सेनाले सुरिन प्रान्तका नागरिकका घरहरूमा गोला प्रहार गरेको आरोप लगाएको छ । विदेश मन्त्रालयले एक वक्तव्यमा भन्यो, “कम्बोडियामा राम्रो विश्वासको गम्भीर अभाव र मानवअधिकार र मानवीय कानुनका आधारभूत सिद्धान्तहरूको बारम्बार उल्लङ्घन गर्दा शत्रुताको कुनै अन्त्य गर्न सकिँदैन ।”
कम्बोडियाको तर्फबाट रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेआताले उनीहरूले पहिले फायरिङ गरेको अस्वीकार गर्दै वक्तव्य जारी गर्नुभयो । वक्तव्यमा थाइल्यान्डलाई ‘जानाजानी र समन्वित आक्रामकताका कार्यहरू’ गरेको आरोप लगाइएको छ ।
लामो समयदेखि चलिरहेको सीमा विवाद यस हप्ता लडाकू विमान, ट्याङ्क र भूमिगत सेनाहरूले ग्रामीण सीमावर्ती क्षेत्रमा लड्दा युद्धमा परिणत भयो । विवादित सीमा जङ्गल र कृषि भूमिले घेरिएको पहाड हुन जहाँ स्थानीयवासीहरूले रबर र धान खेती गर्छन् ।
थाइल्यान्डले आफ्ना सात सैनिक र १३ नागरिकको मृत्यु भएको बताएको छ भने कम्बोडियाले आठ नागरिक र पाँच सैनिकको मृत्यु पुष्टि गरेको छ । द्वन्द्वले थाइल्यान्डका सीमावर्ती क्षेत्रहरूबाट एक लाख ३८ हजारभन्दा बढी मानिसलाई खाली गराउन बाध्य पारेको छ र कम्बोडियामा ८० हजार नागरिक आफ्नो घरबाट भाग्न बाध्य भएका छन् ।
न्यूयोर्कमा शुक्रबार आकस्मिक संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकपछि राष्ट्रसङ्घका लागि कम्बोडियाका राजदूत छेआ केओले उहाँको देशले ‘तत्काल युद्धविराम’ र विवादको शान्तिपूर्ण समाधान चाहेको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शनिबार दुवै पक्षलाई ‘तुरुन्तै युद्धविराममा सहमत हुन’ र दिगो समाधान खोज्न वार्ता गर्न आग्रह गर्नुभयो ।
लडाइँ सुरु गर्ने एकअर्कालाई दोष दिनुका साथै कम्बोडियाले थाई सेनाले क्लस्टर हतियार प्रयोग गरेको आरोप लगाएको छ भने थाइल्यान्डले कम्बोडियामाथि अस्पताल लगायत नागरिक पूर्वाधारलाई निशाना बनाएको आरोप लगाएको छ । यो लडाइँले छिमेकी राष्ट्रहरूबिच आठ सय किलोमिटरको साझा सीमानाको दशौँ किलोमिटर विवादित रहेको लामो समयदेखिको विवादमा नाटकीय वृद्धिलाई जनाउँछ ।
प्रतिक्रिया