काठमाडौं, ५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी सेप्टेम्बर २३ देखि २५ तारिखसम्म अमेरिकाको औपचारिक भ्रमणमा जानुहुने भएको छ । चिनियाँ विदेश मन्त्रालयले आज राष्ट्रपति सीको अमेरिका भ्रमणको औपचारिक घोषणा गरेको हो ।
मन्त्रालयका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको औपचारिक निमन्त्रणामा राष्ट्रपति सी सेप्टेम्बर २३ अर्थात् असोज ७ गते अमेरिका प्रस्थान गर्नुहुनेछ । भ्रमणका क्रममा उहाँ सेप्टेम्बर २५ अर्थात् असोज ९ गतेसम्म अमेरिकामा रहननुहुनेछ ।
भ्रमणका क्रममा राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच उच्चस्तरीय भेटवार्ता हुने बताइएको छ । दुई देशबीचको सम्बन्ध, व्यापार तथा अन्य महत्वपूर्ण विषयमा छलफल र सम्भावित समझदारीबारे पनि कुराकानी हुने अपेक्षा गरिएको छ ।
यसअघि गत शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पलाई चिनियाँ राष्ट्रपति सीको अमेरिका भ्रमणबारे प्रश्न गरिएको थियो । जवाफमा ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै सी आगामी साता अमेरिका आउने र उहाँसँगको बैठक राम्रो हुने बताउनुभएको थियो ।
ट्रम्पले अमेरिका र चीनबीच विभिन्न सम्झौतासमेत हुन सक्ने संकेत गर्नुभएको थियो । यसअघि गत मे महिनामा राष्ट्रपति ट्रम्पले चीन भ्रमण गर्नुभएको थियो । सो क्रममा बेइजिङमा ट्रम्प र सीबीच भेटवार्ता भएको थियो । पछिल्लो अमेरिका भ्रमणलाई दुई आर्थिक तथा राजनीतिक शक्तिबीचको सम्बन्धलाई थप अघि बढाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।











प्रतिक्रिया