काठमाडौं, ५ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले व्यहोरेको चुनावी पराजयप्रति अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गर्न आफू तयार रहेको बताउनुभएको छ ।
आजदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले पराजयको जिम्मेवारी स्वीकार गरे पनि यसलाई निराश भएर पछि हट्ने समयका रूपमा लिन नहुने बताउनुभएको हो । अध्यक्ष ओलीले चुनावी परिणामका पछाडि बाह्य प्रहार र घेराबन्दीसँगै पार्टीभित्रका आन्तरिक कमजोरीसमेत जिम्मेवार रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले राजनीतिक प्रतिस्पर्धी, विभिन्न स्वार्थ समूह, डिजिटल अभियान, एकपक्षीय सूचना प्रवाह तथा एमालेविरोधी भावनात्मक कथनहरू सक्रिय रहेको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । उहाँका अनुसार ‘पुराना दल समस्या हुन्, पुरानो नेतृत्व भ्रष्टाचारको पर्याय हो र एमाले त्यसको मुख्य प्रतिनिधि हो’ भन्ने प्रकारको राजनीतिक मनोविज्ञान निर्माण गर्ने प्रयाससमेत भएको थियो ।
यद्यपि बाह्य परिस्थितिलाई मात्र कारण देखाएर पार्टीको आन्तरिक कमजोरीबाट पन्छिन नसकिने अध्यक्ष ओलीले स्पष्ट पार्नुभएको छ । उहाँले संगठन विस्तार भए पनि त्यसअनुसार शुद्धीकरण, सुदृढीकरण र सक्रियता बढाउन नसकिएको स्वीकार गर्नुभएको छ ।
उहाँले कतिपय पार्टी कमिटी औपचारिक संरचनामा सीमित भएको, बैठकहरू भए पनि जनताका समस्या समाधान गर्ने पार्टीको क्षमता अपेक्षाअनुसार प्रभावकारी बन्न नसकेको उल्लेख गर्नुभएको छ । अध्यक्ष ओलीले जनतासँग पार्टीको प्रत्यक्ष संवाद कमजोर बन्दै गएको तथा कार्यकर्ता र नेतृत्वबीच आवश्यक सूचना प्रवाह हुन नसकेको पनि बताउनुभएको छ ।

उहाँले युवाको मनोविज्ञान बुझ्न पार्टी केही ढिलो भएको स्वीकार गर्दै जनताको दैनिक जीवनसँग पार्टीको सम्बन्ध कमजोर भएको अनुभूति सिर्जना भएको उल्लेख गर्नुभएको छ । त्यस्तै, पार्टीको सञ्चार प्रणाली डिजिटल युगअनुकूल पर्याप्त प्रभावकारी र छरितो बन्न नसकेको अध्यक्ष ओलीको भनाइ छ ।
तथ्यमा आधारित जवाफ समयमै प्रवाह गर्न नसक्दा पनि पार्टीले चुनौती व्यहोर्नुपरेको उहाँले उल्लेख गर्नुभएको छ । सरकारमा रहँदा भएका काम तथा उपलब्धिलाई प्रभावकारी रूपमा जनतामाझ पुर्याउन नसकिएको, कतिपय अवस्थामा उम्मेदवार छनोट, स्थानीय असन्तोष, पार्टीभित्रका अन्तरविरोध, अन्तर्घात तथा संगठनात्मक थकानले समेत चुनावी परिणाममा प्रभाव पारेको अध्यक्ष ओलीले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।
अध्यक्ष ओलीले चुनावी पराजयलाई बाह्य प्रहार र घेराबन्दीको मात्रै परिणामका रूपमा बुझ्न नहुने बताउनुभएको छ । उहाँका अनुसार यो पार्टीका आन्तरिक कमजोरीको परिणामसमेत हो । यद्यपि सम्पूर्ण पराजयलाई कुनै एक व्यक्तिको असफलताका रूपमा मात्र व्याख्या गर्नु पनि उचित नहुने उहाँको भनाइ छ ।
समग्रमा चुनावी परिणामलाई समयको मनोविज्ञान, बाह्य राजनीतिक वातावरण, डिजिटल अभियान तथा संगठनात्मक कमजोरीको संयुक्त परिणामका रूपमा बुझ्नुपर्ने अध्यक्ष ओलीले बताउनुभएको छ । उहाँले अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गर्दै अब पार्टीलाई नयाँ ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
‘अध्यक्षका रूपमा मेरो भागको जिम्मेवारी म स्वीकार गर्छु । तर, यो भाग्ने समय होइन,’ अध्यक्ष ओलीले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ,‘जनताको पीडा सुन्ने, जनतासँग नयाँ सम्बन्ध बनाउने, संगठन जगाउने, सञ्चार प्रणाली बदल्ने र पार्टीभित्रको असन्तोषलाई सुधारको ऊर्जामा बदल्ने समय हो ।’











प्रतिक्रिया