काठमाडौं, ५ असोज । अमेरिका र चीनबीच व्यापार तथा कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी वार्ताबाट सकारात्मक सङ्केत देखिएपछि आज अधिकांश एसियाली शेयर बजारमा सुधार देखिएको छ । एआई प्रविधिप्रतिको विश्वव्यापी बढ्दो मागले पनि लगानीकर्ताको उत्साह बढाएको छ ।
गत साता विश्वका शेयर बजारहरू मिश्रित अवस्थामा बन्द भएका थिए । मुद्रास्फीति नियन्त्रणका लागि प्रमुख केन्द्रीय बैंकहरूले मौद्रिक नीति कडा बनाइरहेका बेला अमेरिकी फेडरल रिजर्भले गत बुधबार ब्याजदर वृद्धि गरेको थियो । अमेरिका र चीनका आर्थिक अधिकारीहरूले आइतबार व्यापार र एआईसँग सम्बन्धित विषयमा छलफल गरेका थिए ।
उक्त वार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार वासिङ्टनमा हुने भनिएको शिखर भेटअघि भएको हो । अमेरिकी अर्थमन्त्री स्कट बेस्सेन्टका अनुसार दुवै पक्षले एआईसम्बन्धी विषयमा नियमित संवादका लागि ‘अमेरिका–चीन एआई संवाद’ संयन्त्र स्थापना गर्ने विषयमा छलफल गरेका छन् ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले पनि वार्तालाई स्पष्ट, गहन र रचनात्मक भएको बताएका छन् । आज कारोबार सुरु भएको करिब एक घण्टापछि हङकङको प्रमुख शेयर सूचकाङ्क करिब ०.५ प्रतिशतले बढेको थियो । दक्षिण कोरियाको प्रविधि क्षेत्र केन्द्रित सूचकाङ्क १.५ प्रतिशतले उकालो लाग्दा साङ्घाई शेयर बजार करिब ०.५ प्रतिशतले बढेको थियो ।
सार्वजनिक बिदाका कारण जापानको टोकियो शेयर बजार भने बन्द रहेको थियो । अष्ट्रेलियाको सिड्नी बजारमा भने सामान्य गिरावट देखिएको थियो । क्विन्टेक्स इन्टेलका विश्लेषक स्टेफन इनेसले ट्रम्प–सी भेटवार्ताका लागि व्यापार, लगानी र एआईसम्बन्धी आधार तयार भइसकेको बताउनुभएको छ ।
उहाँका अनुसार बजारले तत्काल ठूलो सम्झौताभन्दा पनि अमेरिका र चीनबीचको व्यापारिक तनाव थप नबढ्ने सङ्केत खोजिरहेको छ । यसैबीच, अमेरिका–इरान द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च रहेकाले विश्वभरका केन्द्रीय बैंकमाथि मुद्रास्फीति नियन्त्रणको दबाब बढेको छ ।
जापानको केन्द्रीय बैंकले गत शुक्रबार ब्याजदरलाई तीन दशकयताकै उच्च स्तरमा पुर्याएको थियो । तर आगामी दिनमा ब्याजदर वृद्धिको गति अपेक्षाभन्दा सुस्त हुन सक्ने अनुमानका कारण जापानी येन अमेरिकी डलरको तुलनामा कमजोर बनेको छ ।
यसअघि यही महिनामा युरोपेली केन्द्रीय बैंक र अमेरिकी फेडरल रिजर्भले पनि मौद्रिक नीति थप कडा बनाएका थिए । आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भने केही घटेको छ । साउदी अरेबियाको पूर्व–पश्चिम पाइपलाइन अवरुद्ध भएपछि प्रभावित भएको कच्चा तेल आपूर्तिको करिब आधा हिस्सा केही दिनभित्र पुनः सञ्चालन हुने अपेक्षाले मूल्यमा दबाब परेको हो ।
यद्यपि, ब्रेन्ट र डब्लुटिआई दुवै प्रमुख कच्चा तेलको मूल्य अझै प्रतिव्यारेल करिब १०० अमेरिकी डलरको हाराहारीमा रहेको छ । यो स्तर अमेरिका–इरान द्वन्द्व सुरु हुनुअघिको मूल्यभन्दा उल्लेखनीय रूपमा उच्च हो ।











प्रतिक्रिया