सुर्खेत, १० साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान शिक्षा प्रणालीलाई नवीनतम सुधार आवश्यक रहेको बताउनुभएको छ । उहाँले अहिलेको युग अनुसारको शिक्षाले मात्र विद्यार्थीलाई प्रतिस्पर्धी, सक्षम र उत्पादनशील बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो। आज वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ स्थित श्री अमरज्योति माध्यमिक विद्यालयको प्रशासनिक एवम् शैक्षिक भवन निर्माण कार्यको शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले समय अनुसार शिक्षा प्रणालीमा आमूल सुधारको खाँचो रहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “हामी अझै पनि परम्परागत शिक्षण पद्धतिमा अडिएको छौँ, जहाँ विद्यार्थीले केवल किताब पढ्ने र परीक्षा पास गर्ने लक्ष्य राख्छन् ।
अब हामीले व्यवहारिक, प्रविधिमैत्री र नवीन शिक्षण प्रणाली अवलम्बन गर्नुपर्छ ।” मुख्यमन्त्री कँडेलले शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारको सुधारसँगै गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षालाई जीवन उपयोगी बनाउने गरी पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणाली परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “शिक्षामा रूपान्तरण ल्याउन नीतिगत सुधार, स्रोत व्यवस्थापन र सक्षम शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ,” उहाँले भन्नुभयो। कार्यक्रममा उहाँले नवनिर्मित विद्यालय भवनले सिकाइ वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रदेश सरकारको तर्फबाट कर्णालीका विद्यालयहरूमा आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र गुणस्तरीय शिक्षाका लागि आवश्यक बजेटको व्यवस्था गरिने बताउनुभयो ।
मुख्यमन्त्री कँडेलले कर्णाली जस्तो भौगोलिक रूपमा विकट प्रदेशमा शिक्षाको माध्यमबाट दीर्घकालीन विकास सम्भव हुने उल्लेख गर्दै शिक्षक, अभिभावक र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । शिक्षा अब सामाजिक परिवर्तनको साधन हुनुपर्छ, त्यसका लागि हामी सबै एकजुट हुनु पर्ने मुख्यमन्त्री कँडेलले उल्लेख गर्नुभयो। उहाँले शैक्षिक भवन निर्माणसँगै सुर्खेत विमानस्थल विस्तारको कार्यमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो। शैक्षिक भवन कर्णाली प्रदेश सरकारको पाँच करोड ८९ लाख २४ हजार आठ सय ३४ रुपैयाँ ४६ पैसा लागतमा ३३ कोठाको भवन निर्माण हुने छ । भने श्रीमान कन्स्ट्रक्सन हेटौँडा उप–महानगर–६ मकवानपुरले २०८३ पुष १५ गते सम्म निर्माण सम्पन्न गर्ने छ । कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनाल, शिक्षा विकास निर्देशनालय प्रमुख दिपा हमाल शिक्षाका क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू, स्थानीय प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।
 
 
 
 
 

                    
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                
            






प्रतिक्रिया