देउवालाई गगनको निम्तो – पर्सि वडा अधिवेशन उद्घाटन गर्न आउनुस्

काठमाडौं, १ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले शनिबार शुरू हुने वडा अधिवेशन उद्घाटन गरिदिन पूर्व सभापति शेरबहादुर देउवासँग आग्रह गर्नुभएको छ । देउवा पक्षबाट समायोजनमा आएका नेताहरूलाई आज सानेपामा स्वागत गर्दै सभापति थापाले देउवालाई अधिवेशन उद्घाटन गरिदिन आग्रह गर्नुभएको हो ।

‘श्रद्धेय पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु, अधिवेशन उद्घाटन गरिदिने कुरा हाम्रो लागि सम्मानको विषय हुन्छ’, उहाँले भन्नुभयो,‘पूर्व सिनियर नेतालाई पनि अधिवेशनमा सहभागी भइदिनु हुन आग्रह गर्छु ।’ सभापति थापाले तोकिएको तिथि–मितिमा महाधिवेशन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

‘हामी विधान, संविधान र अदालतको आदेशले बाँधिएका छौं । असोज १६ को अधिवेशन रोक्नु नपर्ने भनेको कानूनी भाषामा गर्नु भनेको पनि हो,’ उहाँले थप्नुभयो,‘अधिवेशनमा सहभागी हुन सबैलाई आग्रह गर्छु ।’ उहाँले सबैलाई समेट्नका लागि आफूले आवश्यक लचकता अपनाउने बताउनुभयो ।

‘मेरो तर्फबाट गर्ने कुराहरू गर्न तयार छु । अरू केमा लचकता अपनाउनुपर्ने हो, के मिलाउनुपर्ने हो, तयार छु’, थापाले भन्नुभयो,‘कोही पनि साथी अलमलमा नरहनुहोला ।’ उहाँले अझै २÷३ दिनको समय बाँकी रहेको भन्दै अलमलमा नरहन अपिल गर्नुभयो ।

प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार  १६ : ३७  बजे