देशभर छैन ठूलो पानी पर्ने सम्भावना, कोशी र मधेशमा हावाहुरी चल्ने

काठमाडौँ, १० साउन । गएराति सिन्धुपाल्चोक, मकवानपुर र डोटीलगायतका क्षेत्रमा ठूलो पानी परेको छ । हाल बागमती प्रदेशका केही स्थानसहित कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै ठाउँमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशीको तराई र मधेशमा हावाहुरी चल्ने सम्भावना छ।

आज राति कोशीको पहाडी र तराई भूभागलगायत बागमती र गण्डकीका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशको पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुनी वायुको प्रभाव कमजोर रहेको महाशाखाले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार  ०७ : २८  बजे