गाजा युद्ध अन्त्यको समय आएको बेलायत, फ्रान्स र जर्मनीको संयुक्त आग्रह

काठमाडौँ, १० साउन । बेलायत, फ्रान्स र जर्मनीले गाजामा चलिरहेको मानवीय सङ्कट र खाद्यान्न अभावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै युद्ध तत्काल अन्त्य गर्न आह्वान गरेका छन् ।

तीन देशले संयुक्त वक्तव्य निकाल्दै हमासले बन्धकहरूलाई विना शर्त रिहा गर्नु अघि नै युद्धविराम गर्न सबै पक्षसँग आग्रह गरेका बीबीसीले जनाएको छ ।

संयुक्त वक्तव्यमा नागरिकहरूलाई खाना र पानीको आवश्यकता ढिलो नगरी पूरा गरिनुपर्ने भनिएको छ ।

ती देशहरूले इजराइलसँग संयुक्त राष्ट्रसङ्घ तथा मानवीय गैरसरकारी संस्थाहरूलाई तत्काल प्रवेश अनुमति दिन र भोकमरीविरुद्ध काम गर्न सघाउन आग्रह गरेका छन ।

इजराइललाई अन्तर्राष्ट्रिय मानवीय सहायता कानूनअनुसारको दायित्व पूरा गर्न पनि स्मरण गराइएको खबरमा उल्लेख छ ।

साथै, उनीहरूले गाजाको अर्को चरणको योजनामा प्रतिबद्धता जनाउँदै इजरायली सेनाको फिर्ती र हमास नेतृत्व हटाउने विषयमा काम भइरहेको बताएका छन् ।

यसैबीच, इजरायली सुरक्षा अधिकारीहरूले आउँदा दिनहरूमा गाजामा हवाईमार्गबाट सहायता सामग्री खसाल्ने अनुमति दिन सकिने बताएका छन् ।

रेडियो इजरायलका अनुसार यो अनुमति पहिलो चरणमा जोर्डन र यूएईलाई दिन सकिने भनिएको छ । गएको वर्ष पनि बेलायत, अमेरिका र जोर्डनले हवाईमार्गबाट राहत सामग्री गाजामा पठाएका थिए ।

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार  ०७ : १६  बजे