काठमाडौं, ३० भदौ । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई काठमाडौं जिल्ला अदालतले ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । यद्यपि उहाँविरुद्ध अन्य मुद्दासमेत विचाराधीन रहेकाले पुनः अनुसन्धानका लागि प्रहरीले हिरासतमा लैजाने तयारी गरेको छ ।
सोमबार सिंहदरबारबाट पक्राउ परेका अध्यक्ष तामाङविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा ५ लाख २५ हजार रुपैयाँको बाउन्स चेकसम्बन्धी जाहेरी परेको थियो । जाहेरीका आधारमा पक्राउ गरिएपछि उनलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो ।
न्यायाधीश टिकेन्द्र दाहालको इजलासले उक्त मुद्दामा ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर, अध्यक्ष तामाङविरुद्ध अन्य बैंकिङ कसुर तथा ठगीसम्बन्धी मुद्दाहरू समेत दर्ता भएकाले अदालतको आदेशपछि पनि तत्कालै घर फर्किन पाउने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार परिसरमै अध्यक्ष तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी पाँचवटा मुद्दा दर्ता छन् । त्यस्तै, परिसरअन्तर्गतका प्रहरी वृत्त महाराजगञ्ज, जनसेवा र लैनचौरमा समेत सोही प्रकृतिका मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ ।
यसैगरी, भक्तपुर जिल्ला प्रहरी परिसरमा तामाङविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ । दर्ता भएका सबै मुद्दाका मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा पेश भइसकेका छन् । प्रहरीका अनुसार विभिन्न स्थानमा दर्ता भएका मुद्दाहरूको रकम जोड्दा उनीविरुद्ध १० करोड रुपैयाँभन्दा बढीको दाबी भएका मुद्दा विचाराधीन छन् ।
सोमबार भोटेकोशी बाढीसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीसँग छलफल गरेपछि सिंहदरबारबाट बाहिरिने क्रममा अध्यक्ष तामाङलाई अनामनगरस्थित हनुमानस्थानबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि उनलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको थियो ।
जिल्ला अदालतको आदेशपछि भने उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा लैजाने तयारी गरिएको छ । प्रहरी प्रवक्ता एसपी थापाका अनुसार परिसरमा दर्ता भएका पाँचवटा बैंकिङ कसुरसम्बन्धी मुद्दाको अनुसन्धानका लागि उनलाई पुनः अदालतमा पेश गरिनेछ ।











प्रतिक्रिया