जनकपुरधाम, ३० भदौ । धनुषाको विदेह नगरपालिका–६, तिनकौरिया बजारबाट ११ दिनदेखि हराइरहेका १५ महिने बालक सिद्धान्त महतो सकुशल फेला पर्नुभएको छ। प्रहरीले बालक हराएको नभई अपहरणमा परेको खुलेपछि घटनामा संलग्न रहेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।
स्थानीय कमलेश महतोका अन्दाजी १५ महिने छोरा सिद्धान्त भदौ १८ गते तिनकौरिया बजारबाट हराउनुभएको थियो । बालक हराएलगत्तै प्रहरीले खोजतलास सुरु गरेको थियो । मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले निरन्तर खोजी तथा अनुसन्धान गरिरहेको थियो ।
सोही क्रममा सोमबार दिउँसो करिब साढे ३ बजे बालक घरबाट करिब ३ सय मिटरको दूरीमा रहेको केराबारीमा सकुशल फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो । बालक फेला परेपछि प्रहरीले घटनाबारे थप अनुसन्धान गर्दा उ अपहरणमा परेको रहस्य खुलेको डीएसपी खनालले बताउनुभयो ।
११ दिनसम्म नेपाल–भारत ओहोरदोहोर
डीएसपी खनालका अनुसार प्रारम्भिक अनुसन्धानबाट अपहरणमा संलग्न महिलाले बालकलाई ११ दिनसम्म नेपाल र भारतका विभिन्न स्थानमा लैजाने गरेको खुलेको छ । उहाँका अनुसार ती महिलाले कहिले आफ्नै घरमा र कहिले माइती तथा विभिन्न आफन्तको घरमा बालकलाई राख्ने गरेकी थिइन् ।
उनले भारतको बिहारस्थित मधुबनी जिल्लाका विभिन्न स्थानमा समेत बालकलाई लैजाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ‘प्रारम्भिक अनुसन्धानका क्रममा ती महिलाले बालकलाई नेपाल–भारतका विभिन्न स्थानमा लैजाने गरेको देखिएको छ । कहिले आफ्नो घरमा राख्ने र कहिले माइती तथा विभिन्न नातेदारको घरमा लैजाने गरेको पाइएको छ,’ डीएसपी खनालले भन्नुभयो ।
बालक छाडेर भागेकी महिला पक्राउ
प्रहरीका अनुसार बालकलाई केराबारीमा छाडेर भागेकी कमला नगरपालिका–९, हथलेट्वाकी करिब ४१ वर्षीया पुनिता देवी पासवानलाई पक्राउ गरिएको छ । बालक हराएको करिब १५–२० मिनेटमै भारततर्फ भाग्दै गरेको अवस्थामा उहाँलाई विदेह नगरपालिका–१, महिनाथपुरस्थित दशगजा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बालकको खोजीका क्रममा घटनालाई निरन्तर फलोअप गर्दै अनुसन्धान अघि बढाएको थियो । सोही अनुसन्धानका क्रममा पासवानको संलग्नता खुलेपछि उहाँलाई नियन्त्रणमा लिइएको डीएसपी खनालले बताउनुभयो । बालकलाई किन र कुन उद्देश्यले अपहरण गरिएको थियो भन्ने विषय भने अझै खुल्न सकेको छैन ।
पक्राउ परेकी पासवानविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।











प्रतिक्रिया