काठमाडौं, ३० भदौ । त्रिशूली, भोटेकोशी, रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारका लागि रोयल एवान इन्भेस्टमेन्ट प्रालिले ५ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीका सञ्चालक, शेयर सदस्य, कर्मचारी तथा शुभचिन्तकबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
रोयल एवान इन्भेस्टमेन्टका अध्यक्ष हरिबहादुर श्रेष्ठ (नविन) सहितको टोलीले अर्थ मन्त्रालय, सिंहदरबारमा पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको कम्पनीका सचिव राकेश श्रेष्ठले जानकारी दिनुभयो ।
विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । विपद्को समयमा प्रभावित परिवारसँग ऐक्यबद्धता जनाउनु सामाजिक उत्तरदायित्वअन्तर्गतको दायित्व भएको कम्पनीको भनाइ छ ।
रोयल एवान इन्भेस्टमेन्टअन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी शाखा तथा व्यावसायिक प्रतिष्ठान सञ्चालनमा छन् । ए–वन क्याफे, रोयल क्याफे, त्रिवेणी क्याफेलगायत क्याफे, होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालन गर्दै आएको ए–वन ग्रुपले खाद्य स्वच्छता, सेवा तथा व्यावसायिक गुणस्तरलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।
कम्पनीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्, संकट तथा समुदायका आवश्यकतामा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।











प्रतिक्रिया