चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौं, २५ भदौ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक कार्गो जहाजमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी प्रसारण संस्था ‘सीसीटीभी’ का अनुसार जहाजमा सवार कुल ४२ जनामध्ये १७ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ ।

उद्धार गरिएकामध्ये ५ जनाको अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था स्थिर रहेको छ । घटनालगत्तै चिनियाँ राष्ट्रपति सी जिनपिङले खोज तथा उद्धारका लागि ‘पूर्ण क्षमताका साथ’ खटिन निर्देशन दिएका छन् । त्यसैगरी प्रधानमन्त्री ली छियाङले फसेका व्यक्तिहरूको शीघ्र उद्धारमा जोड दिँदै थप दुर्घटना हुन नदिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

स्थानीय समयअनुसार बिहान करिब ११ः१५ बजे (जीएमटी ०३ः१५ बजे) छिङदाओ सहरको एक शिपयार्डमा मर्मतसम्भार भइरहेको बेला उक्त जहाजमा आगलागी भएको थियो । लगभग तीन घण्टाभन्दा बढीको प्रयासपछि आगो नियन्त्रणमा लिइएको सीसीटीभीले जनाएको छ ।

सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरू अनुसार आगलागी भएको जहाज ‘ओसन मेलोडी’ हो । ‘मरिन ट्राफिक’ नामक जहाज ट्र्याकिङ वेबसाइटका अनुसार लाइबेरियाको झण्डावाहक १९० मिटर (६२३ फिट) लामो यो जहाज गत अगस्ट ३१ मा छिङदाओ आइपुगेको थियो ।

चीनको दक्षिण-पूर्वी प्रान्त फुजियानस्थित एक जहाज निर्माण केन्द्र (शिपयार्ड) मा भएको विस्फोटमा परी एक उद्धारकर्मीको मृत्यु र अन्य १२ जना घाइते भएको घटनाको करिब एक महिना नबित्दै यो अर्को ठूलो आगलागीको घटना भएको हो ।

प्रकाशित मिति: २५ भदौ २०८३, बिहिबार  २० : ०२  बजे