अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौं, २५ भदौ । म्याग्दीमा निर्माणाधीन ५३ दशमलव ५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ।

आयोजनाको धवलागिरि गाउँपालिका–४ छहरीमा रहेको अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङतर्फ निर्माणाधीन विद्युत्गृह जोड्ने सुरुङ बुधबार ब्रेक थ्रु भएको हो।

आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार छहरीको अडिटदेखि बाँधतर्फ जोडिने २ हजार ५०६ दशमलव ३९ मिटर सुरुङ ब्रेक थ्रु भएको छ। बाँधतर्फ निर्माण गर्नुपर्ने ३ हजार २८३ दशमलव ३२ मिटर सुरुङमध्ये हालसम्म १ हजार ९७३ मिटर निर्माण सम्पन्न भएको छ। बाँकी सुरुङ केही महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजनाको हालसम्म ५६ प्रतिशत भौतिक प्रगति भएको र आगामी एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको केसीले जानकारी दिनुभयो।

सिभिल ठेकेदार लुना बिल्डर्स एन्ड कन्ट्रयाक्टरले २०८१ भदौदेखि मुख्य सुरुङ निर्माणको काम थालेको थियो। अहिले बाँध, सुरुङ र विद्युत्गृह निर्माणसँगै हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फको कामसमेत तीव्र पारिएको छ।

बर्खायाममा बेनी–दरबाङ सडकको फापरखेत पहिरो, दुखुखोला सडक पुलमा देखिएको जोखिम तथा शिवरात्रिखोला सडक पुल निर्माणमा भएको ढिलाइका कारण आयोजना निर्माण प्रभावित हुँदै आएको जनाइएको छ।

सानिमा बैंकको नेतृत्वमा ६ वटा बैंकको ऋण तथा प्रवर्द्धक कम्पनी र सर्वसाधारणको शेयरबाट जुटाइने ११ अर्ब २३ करोड २७ लाख ६ हजार रुपैयाँ लगानीमा आयोजना निर्माण हुँदैछ। आयोजनाको विद्युत्गृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ।

आयोजनाबाट उत्पादित विद्युत् भारवाङदेखि १ दशमलव ५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी सबस्टेसनमा जोडिनेछ। आयोजनाबाट वार्षिक औसत ३१५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने बताइएको छ।

रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युत्गृहसम्मको उचाइ १९६ मिटर रहेको छ। पानी विद्युत्गृहमा खसाल्न ६९२ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ।

प्रकाशित मिति: २५ भदौ २०८३, बिहिबार  ०८ : २०  बजे