काठमाडौं, २४ भदौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले मुलुकमा देखिएको ग्यास अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै जनप्रतिनिधिले नै बजारमा मुख देखाउन नसक्ने अवस्था आएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद चौलागाईंले एकातर्फ भोटेकोशी बाढीले ठूलो क्षति पुर्याएको र अर्कोतर्फ खाना पकाउने ग्यासको चरम अभावले जनजीवन थप संकटमा परेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘भोटेकोशी बाढीले ठूलै वितण्डा मच्चायो । हामी त्यो कहरबाट अछुतो छैनौँ । अर्कोतर्फ ग्यासको हाहाकारका कारण अहिले बजारमा मुख देखाउन नहुने अवस्था भएको छ । सरकार के हेरेर बसेको छ ?’ सांसद चौलागाईंले प्राकृतिक विपद्का कारण उत्पन्न समस्यासँगै ग्यास आपूर्तिमा देखिएको संकट तत्काल समाधान गर्न सरकार गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार ग्यासजस्तो अत्यावश्यक वस्तुको अभावले सर्वसाधारणको दैनिक जीवन प्रभावित भइरहेकाले सरकारले तत्काल आपूर्ति व्यवस्था सहज बनाउन ठोस कदम चाल्न आवश्यक छ । ग्यासको अभावका कारण सर्वसाधारणले भोगिरहेको समस्याप्रति सरकार संवेदनशील बन्नुपर्ने भन्दै उहाँले ‘जनताको चुलो बल्ने अवस्था सुनिश्चित गर्नु सरकारको पहिलो दायित्व हो’ भन्ने धारणा राख्नुभयो ।











प्रतिक्रिया