ग्यास सहज नहुँदा उद्योगमन्त्री यादवको आक्रोश : ‘उद्योगीलाई पाता नफर्काएसम्म समस्या समाधान हुँदैन’

मन्त्री यादवको विस्फोटक अभिव्यक्ति : ‘कर्मचारीले मलाई टेर्दै टेर्दैनन्, केही काम गर्न सकिनँ’

काठमाडौं, २४ भदौ । उद्योगमन्त्री गौरी यादवले ग्यास अभावको सबै दोष कर्मचारी र व्यवसायीलाई थोपर्नुभएको छ । कर्मचारीले आफूलाई असहयोग गर्दा केही काम गर्न नसकेको उहाँको भनाइ छ । आज उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले कर्मचारीहरु उद्योगीको ईशारामा चल्ने र आफूले भनेको अटेर गर्ने गरेको बताउनुभयो ।

उहाँले कडा आक्रोश पोख्दै व्यवसायीलाई पाता नफर्काएसम्म ग्यास सहज नहुने दावी गर्नुभयो । मन्त्री यादवले नेपालमा ग्यास उद्योगको संख्या अत्यधिक रहेको भन्दै ग्यास आपूर्ति प्रणालीमै पुनरावलोकन गर्नुपर्ने बताउनुभयो । उहाँले उद्योगीको प्रभावमा नीति–नियम बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिँदै उद्योगीलाई कडाइ नगरेसम्म ग्यास आपूर्ति सहज हुन नसक्ने दाबी गर्नुभएको हो ।

ग्यासको आपूर्ति सहज बनाउन आफूले उद्योगीहरूसँग पटक–पटक आग्रह गरे पनि त्यसबाट समस्या समाधान नभएको बताउँदै मन्त्री यादवले अब ‘हात जोडेर’ मात्रै नहुने निष्कर्षमा आफू पुगेको बताउनुभयो । उहाँले नेपालमा हाल ५८ वटा ग्यास उद्योग रहेको उल्लेख गर्दै यति धेरै उद्योग आवश्यक नरहेको धारणा राख्नुभयो ।

‘हामीसँग ग्यास उद्योग ५८ वटा छ । अब ५९ वटा बनाउने हो कि होइन ? हाम्रो जस्तो देशमा दुई वटाभन्दा बढी ग्यास उद्योग चाहिएको छैन,’ उहाँले भन्नुभयो,‘साँच्चिकै सोध्नुहुन्छ भने धेरैमा दुईवटा । सबै खारेज गर्नुपर्छ ।’ मन्त्री यादवले कर्मचारीतन्त्रले सरकारका नीतिगत निर्णय कार्यान्वयनमा असहयोग गरिरहेको गम्भीर आरोपसमेत लगाउनुभयो ।

आफूले कानुन तथा विधेयकमा आवश्यक परिवर्तन गर्न निर्देशन दिए पनि कर्मचारीबाट ‘हुँदैन, मिल्दैन’ भन्ने जवाफ आउने गरेको उहाँको गुनासो थियो । ‘यस्तो बलियो सरकारमा त कर्मचारीहरूले केही चल्न दिएको छैन,’ उहाँले भन्नुभयो,‘विधेयक लिएर आउनुस् भन्यो, जस्ताको तस्तै आउँछ । चेन्ज गर्न भन्नुस्, मान्दैन कर्मचारी ।’

उद्योगसम्बन्धी नीति निर्माणमा उद्योगीहरूको प्रभाव रहेको आरोप लगाउँदै उहाँले सरकारी समितिहरूबाट उद्योगीहरूलाई हटाउनुपर्ने बताउनुभयो । देशहित र राष्ट्रहितलाई केन्द्रमा राखेर कानुन बनाउनुपर्ने भए पनि उद्योगीको स्वार्थअनुसार नीति निर्माण हुने गरेको उहाँको दाबी थियो ।

मन्त्री यादवले कर्मचारीतन्त्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै भन्नुभयो,‘तपाईं भन्नुहुन्छ नि लोकसेवाको ब्रेन छ, त्यो ब्रेन गलत दिशामा लागेको छ। त्यो ब्रेन सही दिशामा लाग्दियो भने यो देश कहाँबाट कहाँ पुग्थ्यो ।’ आफूले धेरै सुधार गर्न खोजे पनि कर्मचारीको साथ नपाउँदा काम गर्न नसकेको गुनासो गर्नुभयो ।

‘म धेरै चेन्ज गर्न खोजिरहेको छु, तर गर्न सकिरहेको छैन । कर्मचारीले साथ नदिएसम्म तपाईं केही पनि गर्न सक्नुहुन्न,’ उहाँले भन्नुभयो । युवाहरूले चाहे कर्मचारीतन्त्रमा सुधार सम्भव रहेको बताउँदै उहाँले आफूले आदेश दिने भए पनि त्यसको कार्यान्वयन नभए मन्त्रीका रूपमा आफूले गर्न सक्ने सीमित हुने बताउनुभयो ।

ग्यास उद्योगको संख्या र बजार व्यवस्थापनबारे प्रश्न उठाउँदै मन्त्री यादवले अन्य ठूला देशको तुलनामा नेपालमा ग्यास उद्योगको संख्या अस्वाभाविक रूपमा धेरै रहेको दाबी गर्नुभयो । उद्योग सञ्चालनका लागि लाइसेन्स वितरणमा आर्थिक चलखेल हुने गरेको आरोपसमेत उहाँले लगाउनुभयो ।

‘पार्टीको कुरा होइन, देशको कुरा हो । जब देशको कुरा आउँछ नि, त्यो पार्टीभन्दा अगाडि बढेर गर्नैपर्छ,’ उहाँले थप्नुभयो,‘ती उद्योगीहरूलाई पाता नफर्काएसम्म यो ग्यास सहज हुँदैन भनेर मेरो अन्तिम विश्लेषण यही हो ।’

प्रकाशित मिति: २४ भदौ २०८३, बुधबार  १५ : ३७  बजे