बालेन–सुदन–रविमाथि गम्भीर छानबिन भए कारबाहीको आधार भेटिन्छ : महेश बस्नेत

काठमाडौं, २४ भदौ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका हत्या, हिंसा र आगजनीका घटनामा निष्पक्ष तथा गम्भीर छानबिन हुनुपर्ने बताउनुभएको छ । उहाँले प्रधानमन्त्री बालेन्द्र साह, गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित जिम्मेवार देखिएका सबैमाथि छानबिन गरिए कारबाहीको आधार भेटिने दाबी गर्नुभएको छ ।

भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै सचिव बस्नेतले राज्यको स्रोत, साधन र सामर्थ्य नियन्त्रणमा लिन जेनजी आन्दोलनका निश्चित व्यक्तिहरूलाई प्रयोग गर्ने खेल भएको दाबी गर्नुभयो । उहाँले विगतमा अपराधमा संलग्न व्यक्तिविरुद्ध आफूहरूले दिएको जाहेरी तथा पक्राउ गरी प्रहरीलाई बुझाइएका व्यक्तिमाथि समेत प्रभावकारी कारबाही नभएको भन्दै प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाउनुभयो ।

कारबाही नहुनुले घटनामा प्रहरीको समेत संलग्नताबारे आशङ्का उत्पन्न भएको उहाँको भनाइ थियो । जेनजी प्रदर्शनका क्रममा प्रहरी चौकी, अदालत, सवारीसाधन तथा हतियारसहितका प्रहरी संरचनामा ठूलो क्षति पुगेको उल्लेख गर्दै उहाँले यस्ता गम्भीर घटनामा संलग्नमाथि कारबाही हुन नसक्नु चिन्ताजनक भएको बताउनुभयो ।

जेनजी घटनाको छानबिनका लागि गठित कार्की आयोगको निष्पक्षतामाथि समेत प्रश्न उठाउँदै बस्नेतले सिंहदरबार, संसद् र सर्वोच्च अदालतलगायतका संवेदनशील संरचनामा भएको आगजनी तथा हिंसाको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो ।

उहाँले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी १३ दिनसम्म हिरासतमा राखिएको प्रसङ्ग उठाउँदै त्यस अवधिमा उनीहरूमाथि कुन अभियोग स्थापित भयो भन्ने प्रश्नसमेत गर्नुभयो ।

बस्नेतले भन्नुभयो, ‘जेनजी आन्दोलनका क्रममा गोली चलाउने पनि तिमीहरू नै हौ, सिंहदरबार, संसद् र सर्वोच्च अदालत जलाउने पनि तिमीहरू नै हौ भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ। तर यी सबै घटनाको निष्पक्ष र गम्भीर छानबिन हुनुपर्छ ।’

उहाँले जेनजी आन्दोलनका क्रममा भएका हत्या, हिंसा र आगजनीको गम्भीर अनुसन्धान हुने हो भने बालेन, सुदन र रविसहित जिम्मेवार देखिएका सबैमाथि कानुनी कारबाही हुनुपर्ने दाबी गर्नुभयो । ‘हामीसँग आवश्यक आधार र प्रमाणहरू सुरक्षित छन् । कसैलाई राजनीतिक संरक्षण दिइनु हुँदैन। प्रत्येक घटनाको एक–एक हिसाबकिताब हुनुपर्छ,’ उहाँले भन्नुभयो ।

सचिव बस्नेतले वर्तमान सरकारलाई ‘असक्षम, अयोग्य र कठपुतली सरकार’को संज्ञा दिँदै विदेशी शक्तिको प्रभावमा सरकार सञ्चालन भइरहेको आरोप लगाउनुभयो। सरकार जति लामो समय रहन्छ, मुलुकलाई त्यति नै क्षति हुने उहाँको दाबी थियो ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा समेत सरकार असफल भएको आरोप लगाउँदै उहाँले विपद्को समयमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरूको भने प्रशंसा गर्नुभयो। यद्यपि सुरक्षा निकायको नेतृत्व तथा समग्र संस्थाको भूमिकामाथि गम्भीर प्रश्न उठेको उहाँको भनाइ थियो ।

रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा उद्धारका लागि पर्याप्त रूपमा हेलिकप्टर परिचालन हुन नसकेको तथा पीडितहरूले रकम तिरेर हेलिकप्टरमार्फत उद्धार गर्न खोज्दा समेत अनुमति नदिइएको दाबीसमेत बस्नेतले गर्नुभयो ।

प्रकाशित मिति: २४ भदौ २०८३, बुधबार  १४ : ४४  बजे