काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेन–जी पुस्ताले परिकल्पना गरेको समाज निर्माणको दिशामा मुलुक अघि बढ्न सकेको छ कि छैन भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै सांसद केसीले गत वर्ष भएको जेन–जी आन्दोलन कुनै दल विशेष वा सरकार परिवर्तनका लागि नभएको बताउनुभयो । उहाँका अनुसार उक्त आन्दोलन राज्य सञ्चालनको शैली, संस्कार र कार्यप्रणालीमा परिवर्तन ल्याउन तथा मुलुकमा विद्यमान दण्डहीनता र विधिविहीनताको अन्त्यका लागि केन्द्रित थियो ।
उहाँले भन्नुभयो, ‘जेन–जी आन्दोलन कुनै दल विशेषको थिएन । यो आन्दोलन सरकार परिवर्तनका लागि नभई संस्कार परिवर्तनका लागि, सरकारको शैली परिवर्तनका लागि तथा मुलुकमा विद्यमान दण्डहीनता र विधिविहीनताको अन्त्यका लागि थियो ।’
जेन–जी आन्दोलनको मर्मअनुसार राज्य र समाजलाई अघि बढाउन सकिएको छ कि छैन भन्ने विषयमा राजनीतिक नेतृत्व र सम्बन्धित सबै पक्षले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने उहाँको भनाइ थियो । सांसद केसीले मुलुकमा अहिले मल र एलपी ग्यासको अभावका कारण सर्वसाधारणले समस्या भोगिरहेको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो ।
प्राकृतिक विपद्का कारण थप चुनौती सिर्जना भएको अवस्थामा सबै राजनीतिक दल, राज्यका निकाय र नागरिक समाज एकजुट भएर समस्या समाधानमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो । ‘अहिले चारैतिर हाहाकारको अवस्था छ। मलको हाहाकार छ, ग्यासको हाहाकार छ । यस्तो समयमा हामी सबै एकै ठाउँमा उभिएर मुलुकसामु देखिएका समस्या समाधान गर्नुपर्ने आवश्यकता छ,’ उहाँले भन्नुभयो ।
बाढी तथा अन्य विपद्मा परेका नागरिकको उद्धारमा सरकारले केही हदसम्म राम्रो काम गरे पनि उद्धार कार्यलाई अझ प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने उहाँको धारणा थियो । विशेषगरी रसुवाको भोटेकोशीमा आएको बाढीका कारण टनेलमा फसेका नागरिकको उद्धारमा थप प्रभावकारी कदम चाल्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले विपद्का बेला उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिँदै प्रभावित नागरिकलाई राज्यको अनुभूति हुने गरी काम गर्न सरकारलाई आग्रह गर्नुभयो । सांसद केसीले जेन–जी पुस्ताले उठाएका सवाललाई केवल तत्कालीन राजनीतिक परिवर्तनसँग जोडेर हेर्नुभन्दा राज्य सञ्चालनको संस्कार, जवाफदेहिता, विधिको शासन र सुशासनसँग जोडेर सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।











प्रतिक्रिया