काठमाडौं, २३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले जेनजी शहीदहरूको बलिदानको उद्देश्यप्रति गम्भीर प्रश्न उठाउनुभएको छ।
जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा भव्य मञ्च निर्माण गरिएको र विवादित पृष्ठभूमिका धर्मगुरुलाई समेत सहभागी गराइएको विषयप्रति असन्तुष्टि जनाउँदै उहाँले सामाजिक सञ्जालमार्फत यस्तो प्रश्न उठाउनुभएको हो।
सांसद धितालले कार्यक्रमले आफ्ना सन्तान गुमाएका शहीद परिवार तथा अझै आन्दोलनका घाउ बोकेर रहेका घाइतेहरूको पीडा कसरी सम्बोधन गर्यो भन्ने आफूलाई थाहा नभएको बताउनुभएको छ।
उहाँले जेनजीको आवाजलाई अगाडि बढाउने तथा सरकारका काममाथि निरन्तर प्रश्न उठाउनेहरूले समेत कार्यक्रमको स्वरूपबारे हस्तक्षेप गर्न नसकेको भन्दै प्रश्न गर्नुभएको छ।
विगतमा आफूहरूले प्रेस स्वतन्त्रता, निरंकुश सत्ताको विरोध तथा सबैलाई आफ्नो जिम्मेवारी र मर्यादामा बस्नुपर्ने मागसहित सडकमा आन्दोलन गरेको स्मरण गर्दै धितालले अहिले आफूहरूमाथि प्रश्न गर्नेहरूलाई धम्की र चेतावनीको भाषा प्रयोग गर्नु उचित नभएको बताउनुभएको छ।
उहाँले प्रश्न गर्नुभएको छ, ‘सुध्रिनु अरूले मात्रै पर्ने, हामीले चाहिँ सुध्रिनु नपर्ने ? यही दिन देख्नलाई थियो महान् शहीदहरूको बलिदान ?’











प्रतिक्रिया