किभ, २२ भदौ । रुससँगको जारी युद्धका बिच युक्रेनी सरकारले देशको ‘एडल्ट कन्टेन्ट’ (वयस्क–केन्द्रित सामग्री) उद्योगलाई कानुनी दायरामा ल्याउने र त्यसमा कर लगाउने विषयमा विचार गरिरहेको छ । ‘द वाल स्ट्रिट जर्नल’ का अनुसार यसबाट सरकारका लागि वार्षिक करिब २ करोड ५० लाख डलर अर्थात करिब ४ अर्ब १६ करोड नेपाली रुपैयाँ बराबरको अतिरिक्त राजस्व सङ्कलन हुन सक्छ ।
युक्रेनका एक सांसदका अनुसार उक्त रकमबाट करिब ३० हजार सैन्य ड्रोनहरू खरिद गर्न सकिन्छ । युक्रेनमा अश्लील सामग्री (पोर्नोग्राफी) लाई अझैसम्म पूर्ण कानुनी मान्यता दिइएको छैन । यसलाई कानुनी दायरामा ल्याउनुको उद्देश्य सरकारी राजस्व बढाउनु मात्र नभई भ्रष्टाचार नियन्त्रण गर्नु पनि हो ।
यस प्रस्तावका पक्षधरहरूले प्रहरीलाई वयस्क–केन्द्रित सामग्रीसम्बन्धी मुद्दाहरूमा भन्दा गम्भीर प्रकृतिका अपराधहरूमा ध्यान केन्द्रित गर्न सघाउ पुर्याउनेछ । हाल कानुनी कारबाहीको डरले गर्दा यस उद्योगको ठूलो हिस्सा गोप्य रूपमा सञ्चालित छ । युक्रेनी संसद्ले जुलाईमा पहिलो चरणको छलफलमा यो विधेयक पारित गरिसकेको छ ।
अब यसलाई दोस्रो चरणको छलफलका लागि पेस गर्ने तयारी गरिएको छ । पहिलो चरणको मतदानमा २३१ सांसदले विधेयकको पक्षमा र ८ जनाले विपक्षमा मतदान गरेका थिए भने ३ जना तटस्थ रहेका थिए । युक्रेनमा वयस्क–केन्द्रित अनलाइन सामग्रीको व्यवसाय तीव्र गतिमा बढेको छ।
‘ओन्ली फ्यान्स’ जस्ता प्लेटफर्महरूमा ठूलो सङ्ख्यामा युक्रेनी सिर्जनाकर्ताहरू सक्रिय छन् । ‘द वाल स्ट्रिट जर्नल’ का अनुसार सन् २०२३ मा युक्रेनीहरूले ओन्ली फ्यान्स मार्फत १३ करोड १० लाख डलरभन्दा बढी कमाएका थिए । युक्रेनको वर्तमान कानुनअनुसार अश्लील सामग्रीको उत्पादन र वितरण गैरकानुनी मानिने भएकाले सिर्जनाकर्ताहरूका लागि आफ्नो कमाइमा कर तिर्न सहज छैन ।
यदि उनीहरूले सरकारसमक्ष आम्दानीको विवरण बुझाएमा उनीहरूको पहिचान सार्वजनिक हुने र कानुनी कारबाहीको दायरामा आउने जोखिम रहन्छ । वयस्क सामग्री निर्माता स्वेतलाना ड्वोर्निकोभाले हालसम्म करिब ९ लाख अमेरिकी डलर बराबरको कर तिरिसकेको दाबी गर्दै यस उद्योगलाई पूर्ण कानुनी मान्यता दिएर कर सङ्कलन गरेमा युद्धका लागि आवश्यक अतिरिक्त रकम जुटाउन सकिने बताउनुभयो ।
उहाँले यसअघि नै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको आधिकारिक वेबसाइटमा यसबारे निवेदन समेत दर्ता गराउनुभएको थियो ।











प्रतिक्रिया