काठमाडौं, २२ भदौ । भोटेकोशी बाढीपछि राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति प्रभावित भएको छ । सडक अवरुद्ध भएकै कारण केही दिनमै ग्यास अभाव देखिनुले नेपालको आपूर्ति संरचनाको कमजोरी उजागर गरेको छ ।
नेपालमा खाना पकाउन एलपी ग्यासको निर्भरता निरन्तर बढ्दै गएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार ४४ दशमलव ३ प्रतिशत परिवारले खाना पकाउन एलपी ग्यास प्रयोग गर्छन् भने ५१ प्रतिशत परिवार अझै दाउरामा निर्भर छन् ।
आफ्नै देशमा जलविद्युत् उत्पादनको ठूलो सम्भावना रहे पनि विद्युतीय चुलोको प्रयोग विस्तार गर्न प्रभावकारी नीति र पूर्वाधार विकास हुन नसकेको भन्दै आलोचना भइरहेको छ ।
वर्षायाममा विद्युत् खेर जाने अवस्था देखिँदा इन्डक्सन, इन्फ्रारेड र मल्टिकुकरजस्ता विद्युतीय उपकरणको प्रयोग बढाउनुपर्ने आवश्यकता विज्ञहरूले औंल्याउँदै आएका छन् ।
दैलेखमा प्राकृतिक ग्यासको सम्भावना देखिए पनि त्यसको उत्खनन र व्यावसायिक उपयोगका लागि ठोस तयारी अघि बढ्न सकेको छैन ।
तत्काल ग्यास आपूर्ति सहज बनाउनुपर्ने भए पनि दीर्घकालीन रूपमा आयातित ऊर्जामाथिको निर्भरता घटाउँदै स्वदेशी विद्युत्मा आधारित खाना पकाउने प्रणाली विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ ।











प्रतिक्रिया