काठमाडौं, १७ भदौ । प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा बाढीबाट उत्पन्न विपद्को सामना गर्न सेना परिचालन भए पनि प्रभावकारी रूपमा जनपरिचालन हुन नसकेको बताउनुभएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले विपद्को वास्तविक समाधानका लागि राज्यका संयन्त्रसँगै आम नागरिकको व्यापक परिचालन आवश्यक रहेको बताउनुभयो । ‘सेना परिचालन भयो, जनपरिचालन भएन,’ उहाँले भन्नुभयो, ‘जनपरिचालन नहुँदासम्म यो समस्याको वास्तविक समाधान असम्भवजस्तै हुन्छ भनेर पनि मैले भनेँ ।’
यो विषयमा आफूले सरकारमा रहेका मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूलाई समेत पटक–पटक ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । महाविपत्तिको सामना गर्न संघ, प्रदेश र स्थानीय तहका सरकार, जनप्रतिनिधि, नागरिक समाज तथा आम नागरिकलाई विश्वासमा लिएर संयुक्त रूपमा परिचालन गर्नुपर्ने प्रचण्डको भनाइ थियो ।
‘सेना परिचालनसँगै जनपरिचालन जोडिएन भने, केन्द्रीय सरकारसँगै प्रादेशिक र स्थानीय सरकार जोडिएन भने यो समस्याको समाधान कठिन हुन्छ भन्ने कुरा मैले पटक–पटक भनेको थिएँ,’ उहाँले भन्नुभयो । प्रचण्डले बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको भने प्रशंसा गर्नुभयो । सेनाले जोखिम मोलेर उद्धार तथा राहतमा महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो ।
‘प्रधानमन्त्री र मन्त्री सक्रिय भएर जाने–आउनेमा त देखियो । सेनाले गरेको काम पनि देखियो,’ उहाँले भन्नुभयो, ‘सेनाले धेरै जोखिम उठाएर उद्धार र राहतमा खेलेको भूमिका देखियो। उहाँहरूलाई हामी सबैले धन्यवाद भनेका छौँ ।’ विपद्को समयमा सरकारका सबै तह, सुरक्षा निकाय र नागरिक समाजबीच प्रभावकारी समन्वय तथा जनपरिचालन हुनुपर्नेमा प्रचण्डले जोड दिनुभयो ।











प्रतिक्रिया