भोटेकोशी बाढीमा बेपत्ताको पहिचान खोजिँदै, चितवनमा आफन्तको डीएनए नमुना संकलन सुरु

बेपत्ताको खोजीमा नयाँ प्रक्रिया, आफन्तलाई उपस्थित हुन प्रहरीको आग्रह

चितवन, १६ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा फेला परेका शवहरूको पहिचान गर्न जिल्ला प्रहरी कार्यालय चितवनले बेपत्ता व्यक्तिका आफन्तबाट डीएनए नमुना संकलन सुरु गरेको छ ।

बाढीपछि विभिन्न स्थानमा फेला परेका शवहरूको पहिचानमा सहजता ल्याउने उद्देश्यले डीएनए परीक्षणका लागि आफन्तको नमुना संकलन थालिएको प्रहरीले जनाएको छ । बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुर सेवा इकाइ चितवन तथा जनस्वास्थ्य कार्यालय, भरतपुर, चितवनको प्राविधिक सहयोगमा नमुना संकलन भइरहेको छ ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघको परिसरमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म डीएनए नमुना संकलनको व्यवस्था मिलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी चन्द्रभूषण यादवले भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिका फर्स्ट डिग्री रिलेसन (नजिकका जैविक आफन्त) मध्ये बुबा, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनालाई डीएनए नमुना दिन उपस्थित हुन आग्रह गर्नुभएको छ ।

प्रहरीले नमुना दिन आउने आफन्तजनलाई आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात (नागरिकता वा अन्य परिचयपत्र) तथा दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा साथमा ल्याउन अनुरोध गरेको छ ।

बेपत्ता व्यक्तिका आफन्तबाट संकलन गरिएको डीएनए नमुना र फेला परेका शवबाट लिइएको नमुना परीक्षण गरी वैज्ञानिक विधिबाट शवको पहिचान गर्न सहयोग पुग्ने प्रहरीको अपेक्षा छ ।

प्रकाशित मिति: १६ भदौ २०८३, मंगलबार  १८ : ५५  बजे