छोचेन खोलामा हिमनदी भत्किने जोखिम कायमै, चीनले दियो यस्तो चेतावनी

काठमाडौं, १६ भदौ । नेपाल–तीब्बत सीमानाको छोचेन खोला नदीमा बनेको प्रभाव क्षेत्र वरपरका हिमनदीहरू अझै भत्किन सक्ने जोखिममा रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ । यसले थप ठूलो जोखिम निम्त्याउन सक्ने भन्दै मन्त्रालयले सतर्कता आवश्यक रहेको बताएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभी न्युजका अनुसार चीनको जलस्रोत मन्त्रालयले दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत केरुङ काउन्टीमा भएको गेग्रानसहितको बाढीसम्बन्धी विपद्को सम्पूर्ण जोखिमबारे निरन्तर परामर्श र चरणबद्ध मूल्यांकन गरिरहेको छ ।

हालै गरिएको स्याटलाइट तस्बिरको तुलनात्मक विश्लेषणअनुसार केरुङ त्साङ्पो नदी जलाधार क्षेत्रमा यसअघि पहिचान गरिएका १४ वटा हिमतालको पानीको सतहमा उल्लेखनीय परिवर्तन देखिएको छैन । समग्रमा ती हिमतालहरू स्थिर अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

आज बिहान ड्रोनबाट खिचिएका तस्बिरका आधारमा छोचेन खोला नदीमा बनेको प्रभाव क्षेत्रमा जम्मा भएको पानीको ठूलो हिस्सा बगेर खाली भइसकेको र तल्लो क्षेत्रमा नदीको बहाव सामान्य अवस्थामा फर्किएको देखिएको छ । तर प्रभाव क्षेत्र वरपर रहेका हिमनदीहरू अझै भत्किन सक्ने जोखिममा रहेकाले सम्भावित थप विपद्को जोखिम कायमै रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १६ भदौ २०८३, मंगलबार  १८ : ३६  बजे