काठमाडौंमा ल्याइएका ११४ मध्ये १३ शव सनाखत, रातको २ बजे गोकर्णमा ४६ शवको व्यवस्थापन

काठमाडौं, १६ भदौ । भोटेकोशी बाढीमा ज्यान गुमाएकामध्ये ४६ शवको मध्यराति गोकर्णको जंगलमा व्यवस्थापन गरिएको छ । लगातार पानी परेपछि शव व्यवस्थापनको काम गएमध्यरात करिब २ बजे गरिएको हो ।

जमिनमुनि शव व्यवस्थापन गर्ने निर्णय भएपछि सुरक्षाकर्मीले रातकै समयमा ४६ शवको व्यवस्थापन गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार बाँकी शवको व्यवस्थापनबारे प्रशासनसँग छलफल भइरहेको छ ।

तीमध्ये सनाखत भएको १२ वटा शव परिवारले बुझेर दाहसंस्कार गरेका छन् । सनाखत भएको एकजनाको शव बुझाउने प्रक्रियामा रहेको घिमिरेले बताउनुभयो । गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका जङ्गलमा गाडेर शव व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकृतले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘४६ जनाको शव गाडेर व्यवस्थापन गरिएको छ ।’ स्थानीय प्रशासनले सोमबार निर्णय गरेर सो क्षेत्रमा शव व्यवस्थापन गरेको हो । शव गाड्नुअघि पहिचान नखुलेका शव र टुक्राटाक्रीको डिएनए नमुना सङ्कलन, फिंगर प्रिन्ट र पाँचथान फोटो लिइएको थियो ।

शवको पहिचान तथा व्यवस्थापनको संवेदनशील अवस्थाबीच प्रशासनले आगामी प्रक्रिया तय गरिरहेको छ । बाढीले ज्यान खोस्यो, पहिचान पर्खिएका शवहरू अन्ततः मध्यरातको अँध्यारोमा गोकर्णको जंगल पुगे-विपद्को पीडा कति गहिरो छ भन्ने दृश्य यही घटनाले देखाउँछ ।

प्रकाशित मिति: १६ भदौ २०८३, मंगलबार  १७ : ५९  बजे